३९ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरी बाल विज्याई गरेको कसुरमा १५ वर्षीय बालकलाई जिल्ला अदालतले असार ११ गते पाँच वर्षकैदको फैसला सुनाएको छ ।
न्यायाधीश राजकुमार खतिवडाको इजलासले आरोपित बालकलाई कैदसँगै १५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङ १ नम्बर फाँटका नायब सुब्बा हेमबहादुर बुढाथोकीले बताए ।
तर, पीडक बालक भएका कारण सुधार गृहमा राखिने र सजायमा आधा छुट हुने भएकाले उनले २ वर्ष ६ महिना कैद भुक्तान गर्नुपर्ने बुढाथोकीले बताए ।
कान नसुन्ने र बोलाईसम्बन्धी अपाङ्गता भएकी पीडित महिलालाई पीडकले वैशाख १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख १६ गते इलाका प्रहरी कार्यालय लेटाङ्गमा उजुरी दिएको थियो । प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १६ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।