INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारका आरोपितलाई छाड्न दबाव दिने क्रममा प्रहरीसँग झडप, ११ जना घाइते

प्रेम विवाह गरेर घरमा बस्ने वातावरण नबनाएको र परिवारले स्वीकार नगर्दा अलपत्र अवस्थामा रहेका बेला आफूमाथि पटकपटक बलात्कार गरेको आरोपमा १४ वर्षीया बालिकाले प्रहरीमा उजुरी दिएपछि गिरफ्तार भएका गढवा गाउँपालिका-६ का २५ वर्षीय भरतप्रताप यादवलाई छाड्न दबाव दिँदै आरोपितका आफन्त र गाउँलेहरूले इलाका प्रहरी कार्यालय गढवा घेराउ गर्दा असार १ गते झडप भएको छ ।

असार १ गते दिउँसो प्रहरी कार्यालय घेराउ गर्न पुगेका आरोपितका आफन्त र गाउँलेहरूले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्नु परेको सो प्रहरी कार्यालयका इन्स्पेक्टर पञ्चलाल गोलेले जानकारी दिए ।

झडपमा परी इलाका प्रहरी कार्यालय गढवामा कार्यरत ४० वर्षीय असई कमलकिशोर आचार्य, ३८ वर्षीय हवल्दार दैलत सिंह बुढा र ३० वर्षीय जवान टोपबहादुर महरा घाइते भएका छन् भने प्रहरी कार्यालय घेराउ गर्न पुगेका आठ जना प्रदर्शनकारी सामान्य घाइते भएका छन् ।

घाइते प्रहरीहरूको स्थानीय मेडिकलमा उपचार गरिएको छ । प्रहरीले अनावश्यक रूपमा मुद्दा दर्ता गरेर फसाउन खोजेको आरोप स्थानीयले लगाएका छन् ।

गढवा गाउँपालिका-६ का २५ वर्षीय भरतप्रताप यादव र १४ वर्षीय बालिकाबिीच फागुन २८ गते प्रेम विवाह भएको जनाइएको छ । तर, आरोपितका तर्फबाट अपहेलना गर्ने, घरपरिवारले बुहारीका रूपमा स्वीकार नगर्ने र लान्छाना लगाउन थालेपछि पीडित बालिकाले जेठ २६ गते इलाका प्रहरी कार्यालय गढवामा आरोपितले बलात्कार गरेको भन्दै पीडित बालिकाले उजुरी दिएकी थिइन् । आरोपितलाई प्रहरीले जेठ २७ गते गिरफ्तार गरी अनुसन्धान थालेको छ ।

अन्य

भिडियो