तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई जिल्ला अदालतले जेठ २२ गते तीन महिनाको कैद सजायका साथै पीडितलाई ७ हजार रुपियाँ क्षतिपूर्ति भराउने सजाय गरेको छ ।
न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले सो फैसला गर्नुका साथै हाललाई कैद स्थगनको फैसला समेत गरेको छ । आरोपितबाट कैद सजाय हुने अन्य अपराध प्रमाणित भएमा मात्र उक्त कैद सजाय गाभिने गरी हाललाई कैद सजाय स्थगनको फैसला गरिएको न्यायाधीश ढुङ्गानाले बताए । यसैगरी पीडितले पाउने क्षतिपूर्ति आरोपित साबालक भएपछि भराइने गरी फैसला भएको छ ।
पीडित बालिकालाई आरोपितले ०७४ माघ २० गते बलात्कार गरेको पीडितले बताएपछि सोही दिन पीडित बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा गरिएको थियो ।
प्रहरीले ०७४ माघ २० गते आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि ०७४ फागुन १५ गतेसम्म इलाका प्रहरी कार्यालय कञ्चनरुपमा सुरक्षाकर्मीहरूसँग थुनामा राखेको थियो ।
पीडितकी हजुरआमाले ०७४ माघ २१ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको उजुरी सोही दिन दर्ता गरिएको थियो ।
न्यायाधीश ढुङ्गानाको इजलासले आरोपित बालकलाई ०७४ फागुन १६ गते संरक्षकको जिम्मा लगाउने आदेश गरेको थियो ।