जिल्लाका प्राय सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धमा नागरिक समाज हुम्लाको आयोजना तथा इन्सेक, नेपाल पत्रकार महासङ्घको सहकार्यमा वैशाख २९ गते सरोकावाला निकायबिच जिल्ला सदरमुकाम सिमकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिले सबै जनतालाई सहज रूपमा स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता जनाएका छन् । सदरमुकामको सिमकोटमा स्वास्थ्य क्षेत्रका समस्या सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
जिल्लाका २६ वटा स्वास्थ्य चौकीमा गाँउपालिकाले औषधिको व्यवस्था गर्न नसकेको गुनासो आएपछि नागरिक समाजको अगुवाइमा सात वटै गाँउपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा संयोजक, प्रमुख जिल्ला अधिकारी, अधिकारकर्मी र राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा नागरिक समाज र इन्सेकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
स्वास्थ्य सेवा सहज रूपमा उपलव्ध गराउन गाउँपालिका अध्यक्षहरूले तीन बुँदे प्रतिबद्धता जनाएको नागरिक समाजका अध्यक्ष गणेशबहादुर महतले बताए ।
जनप्रतिनिधिद्वारा प्रतिबद्धता जनाइएका बुँदाहरूमा स्वास्थ्य ऐन नियममा प्रतिबद्ध रही स्वास्थ्य संस्थाबाट निशुल्क वितरण हुने अत्यावश्यक औषधिको प्रकार तथा सङ्ख्यामा क्रमश बृद्धि गर्दै जाने र वितरण गर्ने, औषधिको दुरुपयोग नियन्त्रणको विशेष व्यवस्थापन गर्ने, औषधिको अनुगमन, खरिद, वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउन वर्तमान खरिद एवम् आपूर्ति व्यवस्थालाई सुदृढ तुल्याउन प्रकृयागत सुधारका साथै यस प्रकृयामा दक्ष फार्मेलिष्ट जनशक्तिको संलग्नता गराउने र जिल्लामा तत्काल कुनै स्वास्थ्य समस्या हुन नदिनका लागि यस विषयमा सम्बन्धित सरोकारवाला निकायको अनुगमन मुल्याङ्कनका साथै स्वास्थ्य समस्या हुन नदिन सक्दो प्रयास गर्नेलगायत छन् ।
खार्पुनाथ गाँउपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गाउँपालिकाका जनताले सिटामोल नपाएको भन्ने अवस्था हुन नदिने बताएका छन् । उनले भने-‘औषधिको अभावमा कुनै जनताको मृत्यु भएको भन्ने नसुनिने गरी औषधिको व्यवस्था स्वास्थ्य चौकीमा गरिने र यो क्रम हरेक वर्ष जारी रहने छ ।’
कार्यक्रममा नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रका लागि गाउँपालिका सधैँ चनाखो रहेको र स्वास्थ्य चौकीमा आवश्यक पर्ने सबै प्रकारका औषधिको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, ताजाँकोटका बाग्दल मल्ल र सर्केगाडका कृष्णबहादुर रोकायले टेलिफोनबाट जनतालाई सहज रूपमा स्वास्थ्य सेवाको व्यवस्था गर्न प्रतिबद्ध रहेको बताए ।