स्वतन्त्र पत्रकार सङ्घ पाल्पाका कार्यसमिति सदस्य एवम् सुर्योदय टेलिभिजनमा आवद्ध पत्रकार हरिबहादुर जिसी अज्ञात समूहको ढुङ्गा प्रहारबाट घाइते भएका छन् ।

वैशाख २१ गते शुक्रबार राति ९ः३० बजे ट्रिपरको ठक्करबाट बालिका दुर्घटनामा परेको विषयमा समाचार सङ्कलन गर्न तानसेन अप्पुभिलेज पुगेका जिसीलाई ढुङ्गा प्रहार भएको हो ।
ढुङ्गा प्रहारबाट जिसीको टाउकोमा चोट लागेको छ । जिसीको उपचार जिल्ला अस्पताल पाल्पामा वैशाख २१ गते गरिएको छ । उनको टाउकोमा तीन वटा टाँका लगाइएको छ ।
‘साथीसँग बाइकमा बसेर रिपोर्टिङ्ग गर्न घटनास्थल पुग्नै लाग्दा ढुङ्गाले टाउकोमा लाग्यो ।’-उनले भने-‘राति नै साथीहरूको सहयोगले उपचारपछि घर फर्किएँ । ढुङ्गा कसले र किन प्रहार गरेको थाहा पाउन सकिनँ ।’
स्थानीय बासिन्दाले भने दुर्घटनामा बालिकाको मृत्युपछि आक्रोशित बनेका व्यक्तिले ट्रिपरलाई ढुङ्गा हान्दा लागेको हुनसक्ने बताए ।
जिसी अहिले घरमा आराम गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी बिनोद घिमिरेले घटनामा संलग्नको खोजी भइरहेको बताए ।