श्रमको उचित सम्मान गर्न माग गर्दै राजविराजमा विभिन्न मजदुर सङ्गठनहरूले वैशाख १८ गते र्याली निकालेर १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घमा आबद्ध मजदुरहरूले निकालेको र्यालीपछि सहिद दशन चोकमा आयोजित कोणसभामा वक्ताहरूले श्रम ऐन एवम् सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन गर्न सरकारसँग माग गरे ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरू भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विष्फोट भयो । विष्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्दा प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ ।

नेपालको विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन लागिएको हो । नेपालमा २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन सार्वजनिक विदा दिन थालिएको हो ।