इलामको साँखेजुङमा रहेको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेका दुई जनालाई जिल्ला अदालतले वैशाख १० गते धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
इलाम नगरपालिका-१ साँखेजुङ घर भएका २४ वर्षीय विशाल राई र २५ वर्षीय विमल राईलाई ०७४ चैत १४ गते राति एनसेल टावरमा आगजनी गरेको आरोपमा चैत १५ गते गिरफ्तार गरेको थियो । अनुसन्धानपछि जिल्ला अदालतले जनही ७५-७५ हजार रुपियाँ धरौटीमा उनीहरू दुवैलाई जिल्ला अदालत इलामले रिहा गरेको थियो ।
जेठ ९ गते अदालतमा हाजिर हुने गरी रिहा गरिएका विशाल र विमल दुवैलाई हिरासतमा बस्दाका उनीहरूका लुगाफाटोलगायतका सामग्री पोको पारिसकेपछि एसपीले गफ गर्न राख्नु भनेको छ भन्दै ड्युटीमा रहेका प्रहरीले उनीहरूलाई कार्यालमै राखेको विशालकी पत्नी मनिता खत्रीले आरोप लगाइन् ।
‘सँगै घर फर्कौंला भनेर बेलुका ७ बजेसम्म प्रहरी कार्यालयमै बसेँ । एसपी पनि आएका छैनन् । तपाईं घर जानु बिहान लिन आउनु तपाईंको मान्छे यहीँ सुरक्षित हुन्छन् भन्दै ड्युटीमा रहेका प्रहरीले मलाई घर पठाए ।’-वैशाख ११ गते सदरमुकाममा पत्रकार सम्मेलन गर्दै मनिताले भनिन्-‘बिहान ९ बजेतिर जाँदा तीनै प्रहरीले तिम्रो मान्छे छैन । रातिनै गाडीमा चढाएर लग्यो । कहाँ लगे भन्ने आफूहरूलाई थाह नभएको उनीहरूले ।’
अदालतले धरौटी लिएर तारिकमा छोडेको मान्छेलाई फेरि किन त्यसरी गिरफ्तार गर्यो भन्ने आफूलाई जानकारी समेत नदिएको उनले आरोप लगाइन् । मनिताले विशाल र विमल दुवै यातायात व्यवसायी रहेको र टावर आगजनीको दिन पनि दिनभर गाउँमै उन्नती परियोजनाको कार्यक्रममा रहेको र सोही दिन घर छाडेर कतै नगएको बताइन् । दुवै निर्दोष भएको र निर्दोषलाई प्रहरीले अनाहकमा दुःख दिएको मनिताको भनाइ छ ।
एसपी विपिन कर्मचार्यले भने विशाल र विमल दुवैलाई सोही एनसेल टावर आगजनीको मुद्दामै पाँचथर जिल्ला प्रहरी पठाइएको बताए । पाँचथरबाट पनि पाँच जना युवालाई सोही एनसेल टावर आगजनीकै आरोपमा जिल्ला प्रहरी कार्यालय इलाममा अनुसन्धानका लागि ल्याइएको एसपी कर्मचार्यले बताए ।
पाँचथरबाट ल्याइएका युवालाई पनि जिल्ला प्रशासन कार्यालय पाँचथरले केही सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जनही २ हजार रुपियाँका दरले धरौटी लिएर वैशाख १० गते नै तारेखमा रिहा गरेको थियो । उनीहरूलाई पुनः गिरफ्तार गरी १० गते राति इलाम ल्याइएको जनाइएको छ ।