मानव अधिकार, जीवनको अपरिर्हाय आधार भन्ने मूल नारासाथका ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरसहित विभिन्न संघसंस्थाको सहकार्यमा मनाइएको छ ।

महिला हिंसाविरुद्धको १६ दिवसीय अभियानको समापनसँगै ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस विविध कार्यक्रम गरी विराटनगरमा मनाइएको हो ।
विराटनगर महानगरपालिकाको सहयोग, इन्सेक कोशी प्रदेश कार्यालयको सहकार्य र मानव अधिकार रक्षक सञ्जाल, विराटनगरको आयोजनामा ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस विविध कार्यक्रम गरी मंसिर २४ गते मनाइएको हो ।

सो अवसरमा मानव अधिकारको क्षेत्रमा दुई दशकयता मोरगंलाई कार्यक्षेत्र बनाइ मानव अधिकार अभियानमा संलग्न हुनु भएका दुई जना व्यक्तिलाई सम्मान गरिएको छ ।
मानव अधिकारका क्षेत्रमा दुई दशकदेखि योगदान पुर्याउँदै आएका गैसस महासंघ मोरङका सचिव नवराज निरौला र मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष चूडा भट्टराई रेग्मीलाई विश्व मानव अधिकार दिवसका अवसरमा सम्मान गरिएको हो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले अहिले विश्वबाटै मानवता हराउँदै गएको प्रसंग उठाउनु भयो । मानवीय संवेदना कमजोर हुँदै गएको बताउँदै मेयर कोइरालाले सबै मिलेर मानवतालाई जागृत गराउनु आवश्यक रहेको बताउनु भयो ।

मानव अधिकार सञ्जाल मोरङका अध्यक्ष वासु अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका कोशी प्रदेश प्रमुख वीरबहादुर बुढामगर, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुडाल, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय कोषाध्यक्ष मञ्जिला उपाध्याय, गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा, इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेल, मानव अधिकार संजाल विराटनगरका संस्थापक अध्यक्ष सोमराज थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
