कार्यक्रम सेभ अवर हिमालय फर्स्ट (SOHF) नेपालको आयोजनामा गण्डकी प्रदेशको वन मन्त्रालय, नीति तथा योजना आयोग, गण्डकी विश्वविद्यालय, इन्सेक, गण्डकी एनजीओ महासंघ, पोखरा महानगरपालिका, कास्कीका गाउँपालिकाहरू, मुक्त फाउन्डेसन र उत्पीडित महिला जागरण केन्द्रको सहकार्यमा हिमालका कुराः हिमाल पर्वतको आवाज विषयक बहस ०८२ वैशाख २७ गते सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले गण्डकी क्षेत्र जलवायु परिवर्तनको जोखिममा अत्यधिक रहेको बताउनु भयो । उहाँले तत्काल प्रभावकारी जलवायु कदम चाल्न आवश्यक रहेको उल्लेख गर्नुभयो । गण्डकी क्षेत्र जलवायु परिवर्तनको प्रभावले सबैभन्दा बढी जोखिममा परेकोले यस क्षेत्रमा काम गर्न ढिलाइ गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका सभाध्यक्ष, संविधान सभा सदस्य एवम् सेभ आवर हिमालय फर्स्ट, नेपालका अध्यक्ष डिवि नेपालीले जलवायु परिवर्तनले पृथ्वीको तापक्रम बढ्नाले विभिन्न समस्या उत्पन्न भएको बताउनु भयो । उहाँले पृथ्वीको तापक्रम न्यूनीकरण गर्ने माध्यम भनेको नै हिमाल भएकोले यसको बचाउ अभियानमा आफूहरू जुटेको बताउनु भयो । उहाँले भू–मण्डलीय तापमान वृद्धिले विश्वका अन्य क्षेत्र प्रभावित भए जस्तै दक्षिण एसिया मात्र न भै सिङ्गो एसियाको हावापानी सन्तुलन र जैविक विविधता कायम राख्न प्रमूख भूमिका निर्वाह गर्ने हाम्रो देश नेपालको ग्रेटहिमालय क्षेत्र र उच्चपहाडी भू–भाग पनि तिव्र रुपमा प्रभावित भएको बताउनु भयो ।

त्यस्तै उहाँले जलवायु परिवर्तनको असरको रूपमा हिमालय र उच्च पहाडी क्षेत्रमा हानि तथा नोकसानी बढ्दै गएको उल्लेख गर्दै तराई मधेश वर्षेनी बाढीको चपेटामा परेको बताउनु भयो । उहाँले वि. सं. २०६९ वैशाख २३ गते सेती नदीमा आएको वेमौषमी बाढी भूमण्डलीय तापमान वृद्धिका कारण हावापानीमा आएको परिवर्तनबाट सृजित प्राकृतिक विपदको उदाहरण भएको स्मरण गराउनुभयो । उक्त घटनामा माछापुच्छ्रे गाउँपालिका–२, खारपानी आसपासमा मृत्यु हुने र बेपत्ता सहित ७४ जना व्यक्तिको क्षति भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले जलवायु परिवर्तनले गम्भीर असरहरू देखाउन सुरु गरिसकेको उल्लेख गर्नुभयो । उहाँले जलवायु प्रणालीमा आएको तिव्र परिवर्तनले हिमालय क्षेत्रमा कायम रहेको सामाजिक जीवन तथा जैविक विविधता मात्र नभै सम्पूर्ण पारिस्थितिकीय प्रणालीमा प्रतिकुल प्रभाव पर्दै गएको बताउनु भयो ।

गण्डकी प्रदेश सभाका सदस्य नन्द प्रसाद न्यौपानेले जलवायु परिवर्तनले जैविक विविधतामा शङ्कट बढ्दै गइरहेको बताउनु भयो । उहाँले हिमतालको आकार र सङ्ख्या बढ्नु, हिमताल फुट्ने, भौतिक निर्माण जोखिममा रहनु, हिमाली बस्ती र पहाडका बस्तीहरू पानीको अभावमा विस्थापित हुने क्रम बढ्नु जस्ता समस्याहरू उत्पन्न हुने बताउनु भयो ।

कार्यक्रममा भूगोलविद् डा. कृष्ण केसी, पर्यटन व्यवसायी लक्की छेत्री कार्की, मानव अधिकार आयोग गण्डकी प्रमुख नीतु गदतौला, लिबर्डका निर्देशक भरत भण्डारी, भूगोलविद् खगेन्द्रराज पौडेल लगायतले जलवायु, जैविक विविधता, महिला र मानव अधिकारका सन्दर्भमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।


