INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वरोजगार मूलक कार्यक्रम बनाउन आग्रह

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख बालकृष्ण केसीले सशस्त्र द्वन्द्वको क्रममा घाइते तथा अपाङ्गता भएकाहरूका लागि आयमूलक तथा स्वरोजगारमूलक कार्यक्रमहरू बनाउन आग्रह गरेका छन् ।

Photo20180326Dailekh (1)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा न्याय, लोकतन्त्र र शान्तिको पहलमा नागरिक आवाज ललितपुरद्वारा दैलेख सदरमुकाममा चैत १२ गते आयोजित द्वन्द्वका घाइते र स्थानीय सरकारको जिम्मेवारी विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

कार्यवाहक प्रमुख केसीले स्थानीय तहमा बजेट र अधिकार समेत गएकोले सरकारी र गैरसरकारी क्षेत्रबाट सेवा सुविधा पाउन नसकेका वास्तविक द्वन्द्व पीडितका लागि कार्यक्रम बनाउन स्थानीय तहलाई सुझाव दिए । उनले द्वन्द्व पीडितले पाएको सुविधाहरूलाई व्यवसायिक क्षमता विकासमा प्रयोग गर्न आग्रह गरे ।

Photo20180326Dailekh (2)

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति खेमराज केसीले सूचना तथा पहुँचको अभावमा केही छिटपुट बेपत्ता, घाइते र अपाङ्गता भएका व्यक्तिले अझै राज्यबाट पाउनुपर्ने सुविधा दिलाउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले पहल गर्नुपर्ने सुझाव दिए ।

जिविसका पूर्व उपसभापति सूर्यबहादुर शाहीले गरिब, विपन्न र पिछडिएको जाति, वर्ग तथा क्षेत्रको पहुँच पर्‍याउन स्थानीय तहको सरकारको व्यवस्था भएको उल्लेख गर्दै छुटेका द्वन्द्व पीडितहरूको राहत तथा पुनर्स्थापनामा समेत कार्यक्रम बनाउन प्राथमिकता दिनुपर्ने बताए ।

अन्तरक्रियाका सहभागी सरोकारवाला निकायहरूले द्वन्द्वका क्रममा घाइते भएकाहरू, अन्य पीडितहरूको राहत तथा पुनर्स्थापनाका कार्यक्रम ल्याउन दैलेखका चार वटा नगरपालिका र सात वटा गाउँपालिकालाई जिल्ला समन्वय समिति दैलेखले परिपत्र गर्ने र अन्य सरोकारवाला निकायहरूले समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

अमर सुनार

अन्य

भिडियो