INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहसँग नागरिक समाजको सहकार्य विषयमा अन्तरक्रिया

वर्तमान सन्दर्भमा नागरिक समाज र स्थानीय तहको सहकार्य विषयमा रामेछापका सरोकारवालासँग कात्तिक ९ गते रामेछापको मन्थलीमा अन्तरक्रिया गरिएको छ ।

युसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले मन्थली नगरपालिका विकासका लागि तामाकोशी नदी र रणजोर खोला छेउ किनारमा सुविधा सम्पन्न बस्ती विकास गर्ने योजना रहेको बताए ।

सो अवसरमा उनले सेलेघाटदेखि मिल्तीसम्म पुष्पलाल राजमार्ग नजिकका गाउँलाई नमूना बस्ती बनाउने योजना पनि सुनाए । यसको लागि नागरिक समाजले आफूलाई सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा जिल्ला स्वास्थय निरीक्षक केशव फुयालले सम्बन्धित निकायले योजना तर्जुमा गर्दा समावेशी बनाउनुपर्ने बताए । उनले मन्थली नगरपालिका वडा नम्बर १२ र १३ मा स्वास्थ्य संस्था नहुँदा त्यहाँका नागरिकलाई समस्या भएको बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष मिलनकुमार घिसिङले विकासका लागि स्थानीय स्तरमा रहेका श्रोत साधनको पहिचान र प्रयोग गर्नमा ध्यान जानुपर्ने बताए । सिर्जनशील युवा समाज चिसापानीका लव श्रेष्ठ र नेपाल आदिवासी जनजाती महासङ्घका खड्कबहादुर आलेमगरलगायतले भूकम्प पीडितले सरकारबाट पाउने सेवा सुविधा सहजरूपमा नागरिकले पाउने व्यवस्था मिलाउनुपर्ने बताए ।

उनीहरुले घर बनाउनका लागि रामेछापमा काठको अभाव भएकाले त्यसका लागि केही पहल हुन नसकेको गुनासो गरे । उनीहरूले बन्दै गरेको घर धितो राखेर बिना ब्याजको ऋण दिने सरकारको निर्णय रामेछापमा कार्यान्वयन नभएको आरोप लगाए ।

नवराज पथिक

अन्य

भिडियो