INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय अधिकारी र सेवा प्रदायक निकायबिच अन्तरक्रिया

मन्थली नगरपालिका-९ पुरानागाउँमा स्थानीय अधिकारी र सेवा प्रदायक निकायबिच अन्तरक्रिया कार्यक्रम कात्तिक २४ गते सम्पन्न गरिएको छ ।

Photo20171110Rameshhap

उक्त कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार निगरानी समूह पुरानागाउँसँग समन्वय गरी आयोजना गरेको हो ।

कार्यक्रममा सेवा प्रदायक निकायहरू वडा कार्यालय, शिक्षा, स्वास्थ्य चौकी, पशुसेवा केन्द्र र सामुदायिक अध्ययन केन्द्र, पुनर्निर्माण प्राधिकरणलगायतका निकायको सेवा प्रवाहाका सवालमा छलफल भएको थियो ।

सो वडाका अध्यक्ष बुद्धिबहादुर पुलामीमगरले यस्ता अन्तरक्रियाले सेवा प्रदायक निकायलाई जबाफदेही बनाउन सहयोग गर्ने बताए । उनले वडामा रहेका सेवा प्रदायक निकायहरूको सेवा प्रभावकारी बनाउनका लागि सबैसँग छलफल गरेर अगाडि बढ्ने बताए । वडाका केही विद्यालयहरूको पठनपाठनमा समस्या रहेकाले त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनको भनाई थियो ।

कार्यक्रममा भिमेश्वर रूद्र माध्यामिक विद्यालय श्रोत केन्द्रका श्रोत व्यक्ति केदार ढुङ्गेलले पुरानागाउँमा रहेका विद्यालय मध्ये दुई ओटा आभारभुत तहको विद्यालयको अवस्था कमजोर रहेको बताए । उनले ती विद्यालयहरूलाई कडा निगरानीका साथ सुधार गर्ने प्रयासमा लागिरहेको बताए ।

विद्यालय सुधारका लागि अभिभावक, शिक्षक र विद्यार्थीलगायत सरोकारवाला निकाय सबै लाग्नुपर्ने उनको भनाई छ । उनले अन्यत्रका सामुदायिक अध्ययन केन्द्रले धेरै काम गरेका भएपनि पुरानागाउँमा भने सामुदायिक अध्ययन केन्द्रले प्रभावकारी काम गर्न नसकेको बताए ।

पुरानागाउँ स्वास्थ्य चौकीका अहेब सञ्जयकुमार मण्डलले स्वाथ्यचौकीमा आवश्यकता अनुसार औषधि नहुँदा समस्या भएको बताए । औषधि अभावका सवालमा सरोकारवाला निकायलाई जानकारी गराउँदा पनि औषधि नआएको उनको भनाई छ ।

पुरानागाउँका इञ्जिनियर प्रकाश चौधरीले अहिले पुरानागाउँमा १ सय ६२ ओटा घर निर्माण भइरहेको बताए । उनले पुरानागाउँमा १ सय ५० घरले दोस्रो किस्ता रकम बुझिसकेका र ५३ घर तेस्रो किस्ताका लागि सिफारिस भइसकेका बताए ।

त्यसैगरी पशु सेवा केन्द्र पुरानागाउँकी यलिना घिसिङले स्थानीय तह निर्माण भएसँगै कुनै पनि पशु औषधि पुरानागाउँमा नगएको बताइन् । उनले सात थरिका पशु औषधि सरकारले निशुल्क प्रदान गर्ने भनिएपनि अहिले सेवा केन्द्रमा कुनै औषधि नभएको बताइन् । औषधि नभए पनि आफूले पशु उपचार तथा परामर्श भने दिइरहेको बताइन् ।

नवराज पथिक

अन्य

भिडियो