अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शिवपुरी गाउँपालिकामा पुस २२ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पपन्न गरेको छ । गाउँपालिकामा खाद्य, शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका अधिकारको विषयमा सरोकारवालाहरूसँग सार्वजनिक सुनवाई गरेको हो ।
शिवपुरी गाउँपालिका वडा नं. ७ सुनखानी र वडा नं. ८ थानापतिमा डब्लुपीडी नेपालको सहयोगमा ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यु) अन्तर्गत संस्थाले गाउँपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्रप्रसाद भट्टले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।
उहाँले भन्नु भयो– “गाउँपालिका सबैको अभिभावक हो, हामीले वर्षिक कार्यक्रम तथा बजेटको पुस्तक निकालेका छौँ, सो अनुसार काम भए नभएको अनुगमन गर्नु होला ।”
‘कुनै कर्मचारीले काम नगरेमा, बजेट कार्यन्वयन नगरेमा, तपाईहरूलाई समस्या सिर्जना गरेमा प्रमुख प्रसाशकीय अधिकृतलाई भन्नुस्, त्यहाँबाट पनि पार नलागेको अध्यक्षलाई भन्नुुस्’ उहाँले भन्नुभयो ।
गाउँपालिकाको कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, गाउँ कार्यपालिकाका तीन जना सदस्य र विषयगत शाखाका प्रमुखहरूले जवाफ दिएका थिए ।
कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य बीमा, कृषि, बिउविजन, पशु बीमा, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राखेका थिए ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य तथा वडा नं. ५ का वडाअध्यक्ष सीताराम थापाले नागरिकको समस्या र गुनासोको गाउँपालिकाले संवोधन गर्दै आएको र आगामी दिनमा संवोधन हुने बताउनुभयो । उहाँले योजना बनाएर आउन र पालिकाले दिने सेवाहरू लिनको पछि नपर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँकार्यपालिका सदस्य तथा वडा नं. ८ का वडाअध्यक्ष पदम थपलियाले गाउँपालिका अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा तपाईहरूका समस्या गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले पालिकाले कृषि, भेटेरेनरी, स्वास्थ्य शिक्षा, महिला अधिकारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा गाउँकार्यपालिका सदस्य विमला परियारले पालिकाले विभेद अन्त्यको लागि सचेतीकरणका कार्यक्रमहरू सञ्चालन गरिरहेको र गाउँघरमा पनि विभेदहरू कम हुँदै गएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा, शिक्षा तथा खेलकुद शाखा, कृषि शाखा, महिला विकास शाखा लगायतका विषयत शाखाका प्रमुखहरूले आआफ्ना शाखा कार्यक्रमको बारेमा जानकारी दिँदै उठेको गुनासोहरूलाई आगामी दिनमा संवोधन गर्ने र कमजोरीहरू सच्याउने प्रतिवद्धता जनाएका थिए ।