INSEC Online

📅 २०८३ जेष्ठ २१

सम्पदाक्षेत्रको पुनर्निर्माण गर्न स्थानीयको माग

०७२ को ‘गोरखा भूकम्प’ले भत्काएको चार वर्षपुग्न लाग्दा पनि नुवाकोटको सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरू पुनर्निर्माणमा सरकारले चासो नदिनु दुःखदायी भएको स्थानीयले आरोप लगाएका छन् ।

असोज ९ गते विदुर नगरपालिका-२ नुवाकोट दरबार क्षेत्रमा इन्सेकको आयोजनामा भएको भूकम्प पछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले तत्काल सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्न माग गरेका हुन् ।

Photo20180926Nuwakot

स्थानीय श्याम डङ्गोलले जिल्लाको प्रमुख सांस्कृतिक सम्पदा भूकम्पको कारण भग्न हुँदा सरकारले चासो नदिएको बताए । उनले सम्पदाहरू भत्कँदै गएको कारण यहाँ लाग्ने नियमित जात्रा, मेला, पुजा, पर्वहरू प्रभावित भएको उल्लेख गर्दै सांस्कृतिक अधिकारको समेत हनन् भएको बताए ।

स्थानीय अशोक नगरकोटीले सरकारले लाभग्राहीको सूचीमा नपरेको गुनासो पटकपटक गर्दा पनि सुनुवाइ नभएको बताए ।

कार्यक्रममा नुवाकोट पुरातत्व विभागका उपसचिव सन्दीप खनालले दरबार क्षेत्रको पुनर्निर्माणका लागि चीनले ठेकेदार छनौट गरिरहेको जानकारी आएकोले सम्भवत आउँदो तिहारपछि नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माण आरम्भ हुने बताए ।

विभागकै इञ्जिनियर पूर्णबहादुर श्रेष्ठले सरकारले पुरातात्विक किसिमको घर बनाउन ५० हजार रुपियाँ र विदुर नगरपालिले ४० हजार रुपियाँ थप अनुदानको व्यवस्था गरेको बताए ।

Photo20180926Nuwakot1

विदुर नगरपालिका-२ का वडाअध्यक्ष विरेन्द्रकुमार शाहीले सम्पदा पुनर्निर्माण नहुँदा नुवाकोटको पर्यटन गतिविधि शुन्य भएको बताए । उनले तत्काल पुनर्निर्माण गरी नुवाकोटको गरिमालाई जोगाउन पनि आग्रह गरे । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो वडाको गुनासोहरूको सुनुवाई नगरेकोले तत्काल सुनुवाइ गर्न पनि आग्रह गरे । विदुर नगरपालिका-२ का १ सय ८१ वटा गुनासो रहेकामा २१ ओटामात्र सुनुवाइ भएको उनको भनाइ छ ।

कार्यक्रममा नुवाकोट सम्पदा गाउँका अध्यक्ष पुष्कर शर्मा रिमालले पुरातात्विक क्षेत्र भएकाले संरक्षित क्षेत्रको रूपमा विकास गराउन ४ सय २८ घर ‘सम्पदा घर’को रूपमा निर्माण भइरहेको जानकारी दिए ।

भूकम्पले साततले दरबार, गारदघर, रङ्गमहल, तलेजु, लाम्पाटी, सेतो पाटी, भैरवी मन्दिर भत्किएकामा भैरवी मन्दिर पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको छ भने अन्य संरचनाहरू झनै भत्किँदै छन् ।

नवदीप श्रेष्ठ

अन्य

भिडियो