मादी गाउँपालिका स्तरीय मानव अधिकार समूहले स्थानीय तहमा वातावरणीय अधिकारसम्बन्धी दुई दिने कार्यशाला ०८१ फागुन १५ गते सम्पन्न गरेको छ। समूहका अध्यक्ष केदनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिका-५ का वडा अध्यक्ष हुमनाथ अधिकारी रहनुभएको थियो भने डिभिजन वन कार्यालय, कास्कीका वन अधिकृत कोमलराज काफ्ले विशेष अतिथि रहनुभएको थियो। कार्यक्रममा जिल्ला डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वन अधिकृत हरि गौतम, सवडिभिजन वन कार्यालय कुम्दीका वन अधिकृत गणेशबहादुर कार्की, मानव अधिकार समूह मादीका सचिव एवं प्रदेश (गण्डकी) स्तरीय मानव अधिकार समूहका सहसचिव ऋषिराम सापकोटा, सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरू, शिक्षक, समाजसेवी तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो।
कार्यशालामा वातावरणीय अधिकार, वन संरक्षण, जलवायु परिवर्तन, जैविक विविधता, वातावरणीय प्रदूषण, सामुदायिक वन व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो। डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले वैज्ञानिक वन व्यवस्थापन, वन्यजन्तु संरक्षण, जलवायु परिवर्तनको प्रभाव, वातावरण प्रदूषणमा मानवीय गतिविधिहरूको भूमिका जस्ता विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले वन जङ्गलमा आगलागी लाग्न नदिन आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सामुदायिक वन क्षेत्रमा पानी पोखरी निर्माण गरी वन्यजन्तुहरूलाई सुरक्षित वातावरण उपलब्ध गराउन सुझाव दिनुभयो।
कार्यक्रममा सहभागीहरूले वन्यजन्तुका आक्रमणबाट हुने क्षति, सामुदायिक वन क्षेत्रको सीमांकन, वन संरक्षणका लागि आवश्यक पहल जस्ता विषयमा जिज्ञासा राखेका थिए। डिभिजन वन कार्यालयका प्रतिनिधिहरूले यी विषयमा स्पष्ट पार्दै समाधानका उपायहरूसमेत प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन जिल्ला सहजकर्ता सुष्मा आचार्यले गर्नुभएको थियो। प्रमुख अतिथि हुमनाथ अधिकारीले वन जङ्गल संरक्षण सबैको साझा जिम्मेवारी रहेको भन्दै वातावरणमैत्री पहलमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। साथै, उहाँले वनमा आगलागी हुन नदिन र टोल तथा गाउँ सफा राख्न विशेष ध्यान दिन स्थानीयलाई आग्रह गर्नुभयो।
