INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्षायाममा लाग्ने सबै रोगको औषधि उपलब्ध गराउने प्रतिबद्धता

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख शम्भु ज्ञावलीले वर्षायाममा लाग्ने सबैप्रकारका रोगका औषधिहरू गुर्भाकोट नगरपालिकासहित निल्लाका सबै गाउँ तथा नगरपालिकाहरूमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

इन्सेकद्वारा गठित गुर्भाकोट नपा ४, ५ र ९ वडा स्तरीय मानव अधिकार निगरानी समूहले असार ४ गते बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै जनस्वास्थ्य प्रमुख ज्ञावलीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रमुख ज्ञावलीले परिवर्तित संरचना अनुरूप स्थानीय तहबाट समाधान गरिने समस्याहरूको हकमा स्थानीय तहबाटै र जिल्ला जनस्वास्थ्यद्वारा समाधान गर्न सकिने समस्याहरूको हकमा समाधान गर्न आफू लागिपर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

आगामी आर्थिक वर्षमा समावेश गरी स्टेचर उपलब्ध गाराउने, महिलाको पाठेघर खस्ने समस्यालाई समाधानका लागि शिविर सञ्चालन गर्ने तथा राज्यद्वारा निशुल्क घोषणा गरिएका क्यान्सर, मृगौला र मुटुरोगको अपे्रशनलगायतका रोगहरूको निशुल्क उपचारको सिफारिसको लागि सहज प्रक्रियामा कमी नहुने प्रमुख ज्ञावलीको भनाइ थियो ।

गुर्भाकोट नपा ४ का वडाध्यक्ष प्रसन्न शाह, ५ का वडाध्यक्ष लालबहादुर पुन, ९ का वडाध्यक्ष शशि भट्टराई, सदस्य नन्दलाल घर्ती, स्वास्थ्यचौकी साहारेका प्रमुख किरण वली, माओवादी केन्द्रका मानबहादुर विटालु तथा मानव अधिकार निगरानी समूहका अध्यक्ष मोतिलाल बिक र सदस्य भीमकुमारी घर्ती सम्मिलित टोलीले बुझाएको ज्ञापनपत्रमा वर्षायाममा लाग्ने सबै प्रकारका रोगको औषधि तथा राज्यले निशुल्क घोषणा गरेको औषधिहरू समयमै उपलब्ध गराउनुपर्ने लगायतका १० बुँदे माग रहेका छन् ।

                                                                                                                                            दुर्गा थापा

अन्य

भिडियो