रामेछाप जिल्लाको सन् २०१७ को पहिलो ६ महिनाको मानव अधिकारको अवस्थाको समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न भएको छ । इन्सेक र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले ६ महिनाको जिल्लाको समग्र मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
उनले सन् २०१७ को पहिलो ६ महिनामा महिलामाथि भएका हिंसाका घटना बढी भएको बताए । इन्सेकले ६ महिनामा १२ ओटा घटना सङ्कलन गरेको र त्यसमा अधिकांस महिलामाथि गरिएका हिंसाका घटना भएको उनले बताए । यस बाहेक निर्वाचनको समयमा भएका नागरिक र राजनीतिक अधिकारका घटना भएको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेश वस्नेतले नागरिकको मानव अधिकार संरक्षण र प्रवर्धनको लागि नगरपालिका सबैसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताए ।
सहयाक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी घोषणापत्र, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले प्रत्याभूत गरेको मानव अधिकारको संरक्षण र संवर्धन सबैको दायित्व भएको बताए । उनले प्रहरी र प्रशासनबाट कुनै कमजोरी भएका भए पनि त्यसलाई औँल्याइदिन आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर प्रेम जोशीले नेपाल प्रहरी मानव अधिकारको संरक्षणमा सँधै प्रतिबद्ध भएर लागेको बताए ।
उनले रामेछाप जिल्लामा गम्भीर प्रकृतिका मानव अधिकारको उल्लङ्घनका घटनामा कमी आएको भए पनि महिला माथि हुने पारिवारिक हिंसाका घटनाहरू बढेको बताए । यो वर्षमात्र १ सय भन्दा बढी पारिवारिक हिंसाको घटनाका उजुरीहरू प्रहरीका विभिन्न निकायमा आएको उनले बताए ।
कार्यक्रममा सरोकारवाला सरकारी निकायका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, नागरिक अगुवालगायत २३ जनाको सहभागिता रहेको थियो । कार्यक्रम सञ्जालका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको थियो ।
नवराज पथिक