इन्सेकले पोखरामा असोज १८ गते एक कार्यक्रमको आयोजना गरी विश्वव्यापी आवधिक समीक्षा(युपिआर) का लागि प्रतिवेदन तयारीसम्बन्धी प्रदेशस्तरीय छलफल गरेको छ ।
चौथो चरणको समीक्षाअन्तर्गत सन् २०२६ को जनवरीमा यूपीआरमा नेपालको समीक्षा हुनेछ । उक्त समीक्षामा नेपालको सम्पूर्ण मानव अधिकारको समीक्षाका साथै तेस्रो विश्वव्यापी आवधिक समीक्षापछि कार्यदलले दिएको सुझावहरूको कार्यान्वयनको अवस्थाका बारेमा पनि समीक्षा गरिने इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले बताउनु भयो ।

समीक्षा कार्यक्रममा यूपीआरका लागि गैरसरकारी संस्थाहरूको सञ्जालको सचिवालयकी फोकल पर्सन सम्झा श्रेष्ठले नेपालले राज्यहरूको मानव अधिकार अभिलेखहरूको मूल्याङ्कन गर्नका लागि यो संयन्त्रमा छलफल हुने बताउनु भयो ।
मानव अधिकारका समग्र विषयमा प्रतिवेदन तयार पारी आगामी जुनमा संयुक्त राष्ट्रसङ्घमा पेश गर्नु पर्ने भएको हुँदा देशैभरका मानव अधिकारका सवाललाई प्रतिवेदनमा समेट्नु पर्नेमा उहाँको जोड रहेको छ ।
