पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा ०८१ चैत १३ गते पोखरा महानगरपालिका —१६, दिपमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले मानव अधिकारको विषयमा हरेक नागरिक जानकार हुनु पर्ने र हामीले अधिकार सँगै कर्तव्य पनि पालना गर्नु पर्नेमा जाेड दिनु भयाे । अधिकारको माग गर्ने तर कर्तव्य पालन नगर्दा त्यहाँ मानव अधिकार हनन् हुन जान्छ । मानव अधिकारका बारेमा सचेतना अभिवृद्धी गर्ने दायित्व पनि राज्यको नै हो । हामीहरुले विभिन्न कार्यक्रमका माध्यमबाट नागरिकहरुलाई अधिकार र कर्तव्यका बारेमा सचेतना फैलाउने काम गरिरहेका छौं उहाँले भन्नुभयो ।
त्यसैगरी कार्यक्रमका अतिथि पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत जिवनप्रसाद रेग्मीले मानव अधिकारका विषयहरु सबैका घरघरमा पुग्नु जरुरी छ भन्दै यसका लागि सबैले आआफनो ठाउँबाट योगदान पुर्याउनु पर्ने विचार व्यक्त गर्नु भयो ।
शिक्षाविद् अनन्त लम्सालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै शिक्षा प्राप्त गर्न पाउने हामी सबैको अधिकार हो । शिक्षा विना मुलुकको विकास सम्भव छैन तसर्थ सबै अभिभावकहरुले दुःख गरेर भए पनि आफ्ना छोराछोरीहरुलाई अनिवार्य रुपमा विद्यालयमा पठाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा दिव्यज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मी खनाल, अधिकारकर्मी टेकनाथ आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो । मानव अधिकारका विषयमा इन्सेकका गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेल, महिला अधिकारका विषयमा मानव अधिकार एलाइन्सकी केन्द्रीय सदस्य तथा महिला अधिकारकर्मी सवनम शर्मा र लैङ्गिक हिंसा र कानुनी उपचारका विषयमा जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख सरला ढकालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता राधाकृष्ण गुरुङले गर्नु भएको थियो ।


