नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस ३ पर्वतको कुश्मामा सम्पन्न भएको छ ।
इन्सेक प्रतिनिधि अमृतप्रसाद पौडेलले सन् २०२५ जनवरी १ देखि डिसेम्बर १५ सम्म जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका १६ वटा घटनाको विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले राज्यका सबै कार्यालयका कामकारबाही मानव अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएकाले नागरिकले सहज रूपमा सेवा पाउने वातावरण बनाउन जोड दिनुभयो । घिमिरेले कारागारमा रहेका व्यक्तिको समेत अधिकार हुने भएकाले अधिकार संरक्षण र प्रवद्र्धनमा कुनै पनि अवस्थामा अधिकार हनन नहुने गरी काम गर्नुपर्ने बताउनुु भयो । साथै जिल्ला प्रशासनमा दर्ता हुने अभद्र व्यवहारसम्बन्धी उजुरीहरू प्रायः निम्नवर्ग र दलित समुदायबाट बढी आउने तथ्याङ्कले समान पहुँच र न्यायमा चुनौती देखाएको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले ग्रामीण क्षेत्रमा हुने घरेलु हिंसाका धेरै घटनाहरु त्रास र दबाबले बाहिर नआउँदा पीडितको सुरक्षा र न्याय पाउने अधिकार प्रभावित भएको बताउनु भयो । उहाँले घरेलु हिंसाबाट उत्पन्न दबाबले बाँच्न पाउने अधिकारसमेत जोखिममा पारी आत्महत्या दर बढाएको उल्लेख गर्दै प्रहरी तथा सामाजिक निकायमार्फत मनोसामाजिक परामर्श र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्सपेक्टर युवराज जंग कार्कीले जिल्लामा हत्या तथा बलात्कार जन्य घटनाहरु २०२५ को हाल सम्म १५ भन्दा बढी भएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपसचिव विष्णुप्रसाद तिवारीले सरकारले तोकेको न्यूनतम ज्याला नदिइनु श्रम अधिकारको उल्लङ्घन भएको बताउनु भयो । तिवारीले बालशिक्षामा कार्यरत शिक्षकलाई न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक तोक्नु मानव अधिकारको प्रत्याभूति गर्ने राज्यको दायित्वसँग बाझिने कार्य भएको उल्लेख गर्नुभयो ।
पर्वत कारागारका जेलर नविन सुवेदीले पर्वतमा अहिले १७ बन्दी सहित ८० जना कैदी रहेको जानकारी दिँदै ११ तथा १२ कक्षा पढ्ने पनि कैदी बन्दी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश अस्पतालका प्रकाश सुवेदी, जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्याय, नेपाली सेनाको पवर्तका गुल्मपति, राष्टिय अनुसन्धान, शिक्षा विकास तथा समन्वय इकाइका टिकाराम चपाई, सशस्त्र प्रहरीका एसपी करणसिंह धामी, भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख शम्भुकुमार मिश्र, कुश्मा नगरपालिकाकी अधिकृत विन्दु शर्मा रेग्मी लगायतले बोल्नु भएको थियो । कार्यक्रम इन्सेक प्रतिनिधि अमृत प्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो ।