INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस ३ गते सम्पन्न भएको छ ।

इन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलले ०८१ पुस १७ गतेदेखि ०८२ पुस २ गतेसम्म सङ्कलन गरिएका १६ ओटा घटना समीक्षा कार्यक्रममा प्रस्तुत गर्नु भएको छ । जसमा सार्वजनिक सम्पत्ति तोडफोडका ६ ओटा, महिला बालबालिका सम्बन्धी बलात्कार, घरेलुहिंसाका घटना पाँच वटा, जातीय विभेदका दुई ओटा, स्वास्थ्य अधिकार एक ओटा, जेनजी आन्दोलनमा आगजनी तोडफोड एक ओटा र स्याउ बीमा सम्बन्धी एक वटा गरी १६ ओटा घटना रहेका छन् । पछिल्ला दुई वर्षको अवधिमा जिल्ला भरका हिंसामा परेका १० जना महिला तथा बालबालिकालाई कानुनी प्रक्रियामा जानका इन्सेकले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार बालविवाहका घटना गाउँबस्तीमा हुने गरेपनि उजुरीको रुपमा प्रहरीमा आउने गरेका छैनन् । जसले गर्दा कारवाही प्रक्रियामा लैजान असहज भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्यले आयोगले निष्पक्ष रूपमा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । पहुँचविहीन वर्गका लागि अझ सक्रिय भएर काम गरिरहेको उल्लेख गर्दै उहाँले मानव अधिकारको क्षेत्रमा इन्सेकले राम्रो भूमिका खेलेको बताउनु भयो । जुम्लामा महिला हिंसाका घटना बढी हुने गरेको उल्लेख गर्दै उहाँले महिलालाई दोस्रो दर्जाका रूपमा नहेर्न आग्रह गर्नुभयो । मानव अधिकारका दृष्टिले सबै नागरिक समान हुने उहाँको भनाइ छ ।

मानदत्त रावल

अन्य

भिडियो