INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षक विधेयकलाई अगाडी बढाउँछौं : मन्त्री भण्डारी

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षण सम्बन्धी विधेयकलाई पास गराउन भूमिका खेल्ने बताउनु भएको छ । ०८२ मङ्सिर २४ गते ‘मानव अधिकार, हामी सबैको अपरिहार्य आधार’ भन्ने मूल नाराका साथ मनाइएको ७७ औं मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय र इन्सेक लगायतका संस्थाहरुले आयोजनाका गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री भण्डारीले स्वार्थ केन्द्रित मानवीय चेतको कारण समाजमा मानव अधिकार संकटमा रहेको बताउनु भयो । केही कुप्रथाहरू बाहेक वर्तमानको तुलनामा विगत नै मानव अधिकार संरक्षणमा ठीक भएको दाबी गर्नुभयो ।

उहाँले परम्परागत मूल्य मान्यता हराउँदै गर्दा पनि अमानवीय घटनाहरू भइरहेको भन्दै सन्तानबाट अभिभावक र अभिभावकबाट बालबालिका जोखिममा परिरहेको औंल्याउनुभयो । मन्त्री भण्डारीले मानवता प्रवर्धनका कार्यमा सक्रियता, सहकार्य, समन्वय र एकताका साथ हातेमालो गर्न अपिल गर्नुभयो ।

पूर्व मन्त्री एवं प्रदेश सभाका सदस्य कृष्णबहादुर जिसीले मानव अधिकार रक्षक विधेयकलाई अगाडी बढाउन आफुले पनि थप पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आम नागरिकले अधिकारको सचेतना जगाउँदै कर्तव्यतर्फ ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

कर्णाली प्रदेश सभाको विधायन समिति सभापति कल्याणी खड्काले आधुनिकता र प्रविधिको विास भएसँगै मानव अधिकार उल्लङ्घनको स्वरुप पनि फेरिएको बताउनु भयो । सामाजिक, सांस्कृतिक, वातावरणीय र रासायनिक विषयले पनि मानव अधिकारमा प्रत्यक्ष प्रभाव पारेको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले मानव अधिकारको संरक्षण र संवर्धनका लागि विद्यालय तहबाट शिक्षाको थालनी गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो अधिकार माग्दा अरुको अधिकारको पनि ख्याल राख्न सकेम मात्रै मानव अधिकार सुरक्षित हुने बताउनु भयो । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ड खनालले संविधानको रक्षा गरे मात्रै मानव अधिकारको सुनिश्चितता हुनेमा जोड दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका उपसचिव मञ्जु खतिवडाले पछिल्लो समय राज्यभन्दा गैरराज्य पक्षबाट मानव अधिकार उल्लङ्घनका घटनाहरु बढिरहेकोले त्यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।

मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले अहिले मानव अधिकारको प्रत्याभूति भएपनि राज्यले त्यसको भरपुर प्रयोग गर्न नदिएको बताउनु भयो ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसपी रामप्रसाद घर्तिले नेपाल प्रहरीले हरबखत मानव अधिकारको पालना गरिरहेको बताउनु भयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मानव अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकार रक्षक नै असुरक्षित भएकोले प्रदेश सरकारले उक्त विधेयकलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

मानव अधिकारको संरक्षण, संवर्धन, सहभागिताको अधिकार लगायतका अपरिहार्य विषयलाई ध्यानमा राखेर राज्यका हरेक निकायले काम कारबाही अगाडी बढाउनुपर्ने नागरिक समाज संघसंस्थाका प्रतिनिधिहरुको जोड थियो ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो