मानव अधिकार तथा महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रम ०८२ वैशाख २१ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजना तथा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल, कास्कीको समन्वयमा मानव अधिकार तथा महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रम ०८२ वैशाख २१ गते पोखरामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नीतु गर्तौलाले मानव सभ्यतासँगै यसको उत्पत्ति भएको मनिने हुनाले यसलाई प्राकृतिक अधिकार भनिने उल्लेख गर्नुभयो । उहाँले मानिसले गर्भमा आएदेखि चिहानसम्म पनि अर्थात् जन्मनु अघिदेखि मृत्यु पश्चातसम्म मानव अधिकार उपभोग गर्ने हुनाले यसलाई नैसर्गिक अधिकार भनिने जानकारी दिनुभयो ।

परम्परागत लैङ्गिक भूमिकाले महिला र पुरुष दुबैलाई असर गरेको तर अझ बढी असर महिलालाई पारेको उहाँले बताउनु भयो । महिलाहरूमा जात, शिक्षा, समाजिक सम्बन्ध, उमेर, भुगोल, धार्मिक, यौन अभिमुखिकरण आदिको कारणले गर्दा महिलाहरू बहुआयमिक विभेदको सिकार भएको उहाँको भनाइ छ । उहाँका अनुसार लैङ्गिक भूमिकालाई मजबुत बनाउने भूमिका घर, परिवार, बजार, सञ्चार, राज्यले गरेको छ ।
त्यस्तै पोखरा उपमहानगरपालिका-८ का वडा अध्यक्ष रुद्रनाथ बरालले मानव अधिकार तथा महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रमबाट सिकेका सबै कुराहरू आआफ्नो क्षेत्रमा कार्यन्वयन गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले लैङ्गिक हिंसा अन्त्य गर्न सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो । सचेतना मूलक कार्यक्रमले लैङ्गिक हिंसा न्यूनीकरण हुने उहाँको भनाइ छ । उहाँले पोखरा उपमहानगरपालिका-८ ले आगामी दिनमा यस्ता क्रियाकलापमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले मानिसको जीवन, स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित नेपालका राष्ट्रिय कानुन (संविधान लगायत) र नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूले प्रदान गरेका अधिकारहरूलाई मानव अधिकार भनिने बताउनु भयो । उहाँले मानव अधिकारको विचार र क्षेत्र सुरुमा जस्तो थियो, आज त्यसमा धेरै परिवर्तनसँगै विकास भएको उल्लेख गर्नुभयो । मानव अधिकारका क्षेत्र र विषयवस्तु पनि सामाजिक परिवर्तनसँगै परिवर्तन भइरहने उहाँको भनाइ छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्स्पेक्टर सरला ढकालले लिङ्गको आधारमा हुने कुनै पनि प्रकारको अपमानजनक, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रूपमा महिला, पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै पनि कार्य मानवता विरुद्धको अपराध भएको बताउनु भयो ।
उक्त कार्याक्रममा आमा मिलन केन्द्रको अध्यक्ष निर्मला घिमिरे, ज्ञानकुञ्ज आमा समूहको अध्यक्ष सिता थापा, गैसस महासङ्घ, गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्का लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थित रहेको थियो ।

