INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुकुमपश्चिम जिल्लाको आयोजनामा जिल्ला समन्वय समिति रुकुम पश्चिमको सभाहलमा पूर्व समीक्षा कार्यक्रम समपन्न गरिएको हो ।

मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका ६८ ओटा घटनाहरु इन्सेकले अभिलेख गरेको इन्सेक प्रतिनिधि जीवन खड्काले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका निमित्त प्रमुख देवबहादुर बिकले मानव अधिकारको अभिलेख र अधिकारको अभियानमा इन्सेकको महत्वपूर्ण भूमिका रहेको बताउँदै बदलिँदो समयसँगै मानव अधिकार उल्लङ्घनका घटनाहरुको स्वरुप पनि परिवर्तन भएकोले त्यसमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीले आफ्नो अधिकारको लागि बहस पैरवी गर्दा अरुको अधिकारको पनि ध्यानदिनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी उपसचिव ब्युझना देवकोटा पुनले मानव अधिकारको विषय सबैको साझा सरोकार भएकोले यसको संरक्षणमा  सबै पक्षको सहभागिता आवश्यक रहेको बताउनु भयो ।

नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजक गोबिन्द रोकाले झिना मसिना कुरामा नअल्झिएर न्याय र समानताको पक्षमा लाग्नुपर्ने भन्दै त्यसैबाट मानव अधिकारको संरक्षण हुने कुरामा जोड दिनुभयो ।

नेपाली काँग्रेस रुकुमका उपसभापति हर्क सिंह खत्रीले मानव अधिकार उलंघनका आधारभुत तहका जनताको अधिकार रक्षाका लागि घटना संकलन र प्रकाशन कार्यले राम्रो खबरदारी गरेको भन्दै अधिकार संरक्षणमा निरन्तर खवरदारी र सचेतना अझै आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा घटनाको तथ्यपरक सङ्कलन र पीडितलाई न्याय दिन पहल गर्न तथा पीडितहरुको सामाजिक अधिकारको सुनिश्चितता गर्नुपर्नेमा सहभागीहरुको सुझाव दिएका थिए ।

जीवन खड्का

अन्य

भिडियो