INSEC Online

📅 २०८३ जेष्ठ २१

मकवानपुरमा सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत १६ गते मकवानपुरको भिमफेदी गाउँपालिका-२ स्थित भैँसेमा भूकम्पपीडितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

सुनुवाइमा सहभागी भूकम्पपीडितहरूले दोस्रो किस्ताको राहत रकमका लागि कागजपत्र तथा फाइल बुझाएको तीन महिना भइसक्दा पनि हालसम्म राहत नपाएको गुनासो गरेका छन् ।

भिमफेदी गाउँपालिका-२ की भूकम्पपीडित तारा सिंजालीले दोस्रो किस्ताका लागि आवश्यक पर्ने सबै कागजपत्र सहित फाइल कात्तिक महिनामा बुझाएको भएपनि हालसम्म राहत रकम नपाएको गुनसो गरिन् ।

सोही ठाउँकी भूकम्पपीडित सोममाया थिङले पहिलो किस्ता स्वरूप ५० हजार रुपियाँ आफूले पाएपनि दोस्रो किस्ताका लागि फाइल पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरलाई बुझाएको तीन महिना भएपनि सो फाइल वडामा नै राखी प्रक्रिया अगाडि नबढाएका कारण समस्यामा परेको बताइन् ।

भूकम्पपीडितहरूले दोस्रो किस्ताका लागि फाइल बुझाएको तीन महिना भइसक्दा पनि सबैको फाइल जिल्लास्थित पुनर्निर्माण प्राधिकरणमा नपठाएर वडामै चाङ लगाएर राख्ने गरेको गुनासो गरेका थिए । पहिलो किस्ता पाएपनि दोस्रो किस्ताको रकम लिने प्रक्रिया झञ्झटिलो रहेको उनीहरूको गुनासो थियो ।

पुनर्निर्माण प्राधिकरण कार्यालय मकवानपुरका प्रमुख पुण्यराज अधिकारीले तीन/तीन महिनासम्म भूकम्पपीडितको फाइल जिल्ला पुनर्निर्माण प्रधिकरण कार्यालयमा नआएकाले सोको समाधानका लागि लाग्ने प्रतिबद्धता जनाए ।

उनले भूकम्पपीडितको फाइलको चाङ १ हजारदेखि माथिको सङ्ख्यामा एकै पटक आउने गरेका कारण समयमा प्रक्रिया अगाडि बढाउन समस्या हुने गरेकोले भूकम्पपीडितहरूलाई हेटौँडा आएको बेला कार्यालयमा सम्पर्क गर्न र समयमा दोस्रो किस्ता लिएर घर निर्माण गर्न आग्रह गरे ।

भिमफेदी गाउँपालिका-२ का वडा अध्यक्ष काशिराज बज्यूले पहिलो किस्ता स्वरूप ५० हजार रुपियाँ पाएका भूकम्पपीडितहरूले घर निर्माणका लागि डिपिसी गरे मात्र दोस्रो किस्ता पाउने र यसको समयावधि जेठ मसान्तसम्म मात्र रहेको बताए ।

इन्सेक काठमाडौँ कार्यालयका प्रलेख अधिकृत राजु पासवानले दोस्रो किस्ता नपाएका भूकम्पपीडितको समस्या समाधानमा छिटो, छरितो र सरल रूपमा प्रक्रिया अगाडि बढाइदिन जिल्ला पुनर्निर्माण प्राधिकरण र वडा कार्यालयका वडा अध्यक्षलाई आग्रह गरे ।

इन्सेक कार्यालय, काठमाडौँ

अन्य

भिडियो