भूकम्पपछिको पुनर्निर्माणको प्रभाकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम भदौ १८ गते रामेछापको खाँडादेवी गाउँपालिका-४ राजगाउँमा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सान नेपालको संयुक्त आयोजनामा रजगाउँका माझी समुदायमा भूकम्पपछिको पुनर्निर्माणको अवस्थाका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
कार्यक्रममा खाँडादेवी-४ का वडा सदस्य एवम् स्थानीय माझी समुदायका अगुवा धनबहादुर माझीले भूकम्पको कारण रजगाउँस्थित माझी समुदायका १ सय १८ घर भत्किएको जानकारी दिए ।
उनले १ सय १८ घरमध्ये ९६ घरहरू सुरुमा नै लाभग्राहीको सूचीमा परेका र २२ घर छुटेकोमा ५ घरको गुनासो सम्बोधन भई लाभग्राहीको सूचीमा परेको बताए । अझै १७ घर लाभग्राहिको सूचीमा नपरेको उनले बताए ।
लाभग्राही सूचीमा १ सय १ घर परेका भएपनि हालसम्म सो बस्तीमा चार ओटा घर मात्र निर्माण भएको उनले बताए । बलौटे माटोको घडेरी, जनशक्ति र घर निर्माणका सामग्रिको अभाव, रोजगारीको लागि इँटाभट्टा जानुपर्ने बाध्यतालगायतका कारणले माझी बस्तीमा पूनर्निर्माणले गति नलिएको स्थानीयले बताए ।
कार्यक्रममा सहरी विकास मन्त्रालय अन्तर्गतको जिल्ला कार्यक्रम कार्यन्वयन इकाई रामेछापका फोकलपर्सन इञ्जिनियर पवन आचार्यले आउने कात्तिक मसान्तभित्र भवनको डिपिसिसम्मको काम सम्पन्न नगरे दास्रो किस्ता रकम नपाउने भएकोले निर्माणको काम तत्काल अघि बढाउन स्थानीयलाई आग्रह गरे ।
सामुदायिक विकास समाज मन्थलीका सवइञ्जिनियर कमल राईले माझी समुदायलाई पुराना घर भत्काएर नयाँ घर बनाउको लागि सो संस्थाले आवश्यक उपकरण र प्रतिघर खाजा खर्चवापत नगद चार हजार रुपियाँ प्रदान गर्ने बताए ।
कार्यक्रममा आगामी कात्तिक मसान्तभित्र सबै लाभग्राहीले घरको जग उठाई दोस्रो किस्ता रकम माग गर्ने प्रतिवद्धता जनाएका छन् ।
नवराज पथिक