पञ्चदेवल-विनायक नगरपालिकामा रहेका नगर कार्यपालिकाका सदस्यहरूलाई स्थानीय सरकार र मानव अधिकार विषयक दुई दिने तालिम विनायकमा जेठ ५ गते सम्पन्न गरिएको छ ।

जेठ ४ गतेबाट सुरू भएको तालिममा नगर कार्यपालिकाका सदस्यहरूहरूलाई मानव अधिकार, सुशासन, ऐन नियम, काम कर्तव्यहरूको बारेमा तालिम दिइएको हो ।
नगर कार्यपालिका सदस्यहरूलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का क्षेत्रीय संयोजक खड्गराज जोशी र पुष्पविक्रम शाहीले सहजिकरण गरेका थिए ।
संयोजक जोशीले मानव अधिकारमैत्री नीति निर्माणमा स्थानीय सरकारको भूमिका, अधिकारमुखी विकास अवधारणा, नेतृत्व विकासका बारेमा प्रशिक्षण दिए । उनले स्थानीय सरकारको सुशासन तथा सामाजिक समावेशीकरण, श्रोत व्यवस्थापन तथा योजना तर्जुमा, स्थानीय तहका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारका बारेमा छलफल चलाएका थिए ।
सोही नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले नरगसभाबाट पारित भएका र पारित हुन बाँकी रहेका ऐन नियम तथा कार्यविधिका बारेमा जानकारी गराएकी थिइन् ।
उपप्रमुख चलाउनेले सुशासन सहित नागरिकमैत्री सेवा प्रवाह गर्न आफूहरूको पहिलो प्राथमिकता भएको बताइन् ।
उनले भनिन्-‘नागरिकले आशा गरेर पठाएकोले कानुनको अधिनमा रहेर हरेक व्यक्तिलाई सहज सेवा उपलब्ध गराउने बाचा गरेका छौँ ।’
डिसिएको आर्थिक सहयोगमा इन्सेकद्वारा आयोजित तालिममा नगर कार्य पालिकाका १९ जना सदस्यहरूको सहभागिता रहेको थियो ।
शिवराज ढुङ्गाना