अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिरहा र धनुषामा असार १२ गते नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार इलाका प्रशासन कार्यालयका प्रमुख सोमप्रसाद भट्टराईले समाजमा हुने अपराधका सबै घटनाहरूलाई मानव अधिकारसँग जोडेर हेर्नु हुँदैन बरू राज्य पक्ष र सङ्गठित समूहहरूले गरेका घटनाहरूलाई समेटेर वर्ष पुस्तकमा समावेश गर्नुपर्ने बताए ।

मानव अधिकारको संरक्षणमा सबै जना एकमत भएर लाग्नुपर्ने र समाजका सबै पक्ष, राज्यका अङ्गहरूले दण्डहीनतालाई रोक्नु पर्ने बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले मानव अधिकारसँग सम्बन्धित सबै घटनाहरू समावेश हुने र राज्यलाई जिम्मेवार बनाउन उपयोगी हुने भएकोले वर्ष पुस्तकको महत्व रहेको बताए ।

कार्यक्रममा इन्सेक प्रतिनिधिले यस अवधिमा सङ्कलन गरिएका ५६ ओटा घटनाहरू प्रस्तुत गरेका थिए ।
इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा असार १२ गते जनकपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाका बारेमा छलफल गरिएको थियो ।

यी घटनाहरूमा हत्या ६, ज्यान मार्ने प्रयास १९, बलात्कार तीन, बलात्कार प्रयास तीन, झडपमा घाइते चार, बहुविवाह दुई, दाइजोका कारण हत्या एक, लाठी चार्जबाट घाइते सात, यातना एक, गिरफ्तार परेका ९२ गरी जम्मा १ सय ३९ जना पीडित भएका छन् ।
राज्य पक्षबाट १ सय २ जना पीडित भएका छन् भने गैरराज्य पक्षबाट ३७ जना पीडित भएको जनाइएको छ । झडपको क्रममा प्रहरीले सात जनालाइ कुटपिट गरेको, एक जनालाई यातना र ९२ जनालाई गिरफ्तार गरिएको रविदासले जनाएका छन् ।

नेपालमा विभिन्न आन्दोलनबाट धेरै परिवर्तनहरू भए पनि कतिपय कुरामा राज्य अहिले पनि चुकेको महसुस भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मुक्तिनाथ सापकोटाले बताए । जनताको मानव अधिकार हनन् हुन नदिन प्रहरी सचेत रहेको तथा जनताको सम्पुर्ण मानव अधिकारको संरक्षणको लागि आफू प्रतिबद्ध रहेको समेत इन्स्पेक्टर सापकोटाले प्रतिबद्धता व्यक्त गरे ।
दहेजका कारण केटाकेटी दुवैले आत्महत्या गरेको घटना, कम उमेरमा प्रेम विवाह गरी भाग्ने गरेको र वैदेशिक रोजगारीमा जाने मानिस ठगिने गरेको घटनाहरू पनि इन्सेकले अभिलेख गरी प्रतिवेदनमा समावेश गरिनु पर्ने जिल्ला महिला अधिकार सरोकार समूहककी अध्यक्ष उर्मिला यादवले बताए ।
मानव अधिकार उल्लङ्घन तथा अपराधका घटनाहरू छुटयाएर न्यायको लागि पहल गरिनु पर्ने महिला मानव अधिकारकर्मी हेमलता सिग्देलले बताइन् ।
बलात्कार प्रयासका घटनाहरू, दाइजोको कारण पीडित भएका, बहुविवाह, बालविवाहलगायतका घटना प्रतिवेदनमा छुटेकाले वार्षिक प्रतिवेदनमा बाँकी रहेका सबै घटना समावेश गर्न ओरेककी निर्मला काफ्लेले सुझाव दिइन् ।
विनोदकुमार रविदास