इन्सेकले प्रकाशन ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि सन् २०२३ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार १३ गते ओखलढुङ्गामा सम्पन्न गरिएको छ ।

जिल्लामा ६ महिनाको अवधिमा २१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको छ ।
प्रतिवेदनमा बलात्कार र बलात्कार प्रयासका दश ओटा र घरेलु हिंसा ११ ओटा घटना इन्सेकले अभिलेख गरेको तथ्याङ्कमा उल्लेख छ ।
समीक्षाका क्रममा जिल्लाका अन्य स्थानीय तहभन्दा सिद्धिचरण नगरपालिकामा महिलामाथि हुने घरेलु हिंसाका घटना वृद्धि भएको पाइएको छ ।
इन्सेक ओखलढुङ्गाले सन् २०२३ को जनवरीदेखि अभिलेखीकरण गरेको घटनाका आधारमा नगरपालिकामा सात ओटा घरेलु हिंसा र तीन ओटा बलात्कारका घटनामा भएको पाइएको छ ।
अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सबै भन्दा बढी घरेलु हिंसा र बालिकामाथि हुने बलात्कारका घटना रहेको तथ्याङ्क प्रस्तुत गर्नु भएको छ ।
इन्सेक अभिलेखका आधारमा पाँच वर्षीया बालिकादेखि ६४ वर्षीया वृद्धा बलात्कार घटनामा पीडित हुनु परेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दे जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपकबहादुर केसीले इन्सेकले अभिलेख गरेका जस्तै अन्य हिंसाजन्य घटना न्यूनीकरणका लागि सचेतनामा जोड दिनुपर्ने बताउनु भयो ।
जिल्ला अदालतका श्रेस्तेदार नविन खनालले आफूहरूले प्रदान गर्ने सेवा प्रवाहको विषयमा कुनै गुनासो भए कार्यालयमा जानकारी गराउन आग्रह गर्नु भयो ।
इन्सेकले जिल्लामा मानव अधिकारको क्षेत्रमा खेलेको भूमिका प्रभावकारी रहेकोले अझ स्थानीयतरसम्म पुगेर यसरी नै काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले पीडितलाई न्यायिक निकायसम्म पर्याउन इन्सेक जस्तै अन्य सरोकारवाला निकायहरूले पनि भूमिका खेल्नुपर्ने बताउनु भयो
सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले सचेतनाको कमिका कारण पनि अझै कतिपय हिंसाका घटना बाहिर आउन नसकेको पाइएकोले नगरपालिकाले पनि सचेतनाका कार्यक्रमलाई जोड दिने बताउनु भयो ।
इन्सेकले जिल्लामा मानव अधिकार उल्लङ्घनाका घटना अभिलेखीकरण, वार्षिक पुस्तक प्रकाशन, पीडितलाई न्यायिक निकायसम्म गरेको पहल, सरोकारवालाहरूसँग छलफल लगायतका महत्वपूर्ण काम गरेको बताउनु भयो ।
समीक्षामा प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले समुदायस्तरमा कानुनी परामर्शका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । पीडितको लागि पनि कानुनी परामर्श जरूरी रहेको पाइएकोले यस किसिमको कार्यक्रमलाई अघि बढाउन पहल गर्ने बताउनु भयो ।
जिल्लामा इन्सेकले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै इन्सेकसँग आफूहरूले निरन्तर समन्वय र सहकार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांशले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको कामको प्रशंसा गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीको अध्यक्षता तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, अदालतका श्रेस्तेदार, जिल्ला न्यायाधीवक्ता, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख, मानव अधिकारकर्मी र पत्रकारलगायतको सभागिता थियो ।

