अनौपचारिक क्षेत्र सेवा केन्द्र महोत्तरीको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जेठ ३१ गते सम्पन्न गरिएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि अजयकुमार साहले सन् २०१७ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका १ सय १३ ओटा मध्ये राज्य पक्षबाट दुई ओटा र गैरराज्य पक्षबाट १ सय ११ ओटा मानव अधिकार उल्लघङ्न तथा ज्यादतीका घटना भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । ती घटनाहरू मध्ये महिला तथा घरेलु हिंसाका १ सय ६ ओटा, बलात्कार वा बलात्कार प्रयासका चार ओटा, बहुविवाहको एक, हत्याको एक र यातनाको एउटा घटना सार्वजनिक गरेका थिए ।

कार्यक्रममा मानव अधिकारको रक्षा गर्न राज्य जिम्मेवार र गम्भीर भएर लाग्नु पर्ने सहभागी सरोकारवालाहरूले बताएका थिए ।
समीक्षा कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी शालिग्राम शर्माले हिंसारहित समाज निर्माणको लागि सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू एक आपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले इन्सेकले मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लङ्घन र अपराधिक घटना गरी सबैलाई थप विश्लेषण गरी समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।
वक्ताहरूले सामाजिक तथा सांस्कृतिक अधिकार, नागरिक तथा राजनीतिक अधिकारका घटना कतिपय अपराधिक घटना हुने भएकाले इन्सेकले त्यस्ता नीतिगत विषयमा पनि आफ्नो विश्लेषणमार्फ सम्बन्धित निकायलाई नीति परिवर्तनमा झक्झक्याउनुपर्नेमा जोड दिएका थिए ।
इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाहरूको प्रकशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले जेठ ३१ गते जिल्लामा ६ महिनाको अवधिमा अभिलेख गरिएका ८४ ओटा घटनाको सार्वजनिक गरेको हो ।
अभिलेखित घटना अनुसार भक्तपुर जिल्लामा सन् २०१७ जनवरीदेखि १३ जुनसम्म हत्या, कुटपिट, बलात्कार, बलात्कार प्रयास, बाल यौनशोषण तथा दुर्व्यवहार, बहुविवाह, घरेलु हिंसा र मानव बेचबिखनलगायतका घटना भएको छ ।
जसमा गैरराज्य पक्षबाट पाँच जनाको हत्या, चार जना बलात्कृत भएको, चार जनामाथि बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका घटना भएको, दुई जनाले बहुविवाह गरेको, दुई जना मानव बेचबिखनका घटनामा पीडित भएको र ६३ जना महिला घरेलु हिंसाबाट पीडित भएको घटना अभिलेखित छ ।
त्यसैगरी हनमुन्ते खोला फर्काएको विषयमा समाचार सङ्कलन गर्न गएका भक्तपुरका चार जना र काठमाडौँका दुई जना गरी ६ जना पत्रकार माथि दुर्व्यवहार एवम् धाकधम्की दिएको घटना छ ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाईले मानव अधिकार हनन्का घटनामा अपेक्षित रूपमा कम हुन नसके पनि विगतका भन्दा कम भएको बताए ।
उनले गत साउनदेखि हालसम्म भक्तपुरमा ४ सय ४७ ओटा मुद्दा दर्ता भएकोमा गुण्डागर्दीका मुद्दामा मात्रै १ सय ३९ ओटा मुद्दा दर्ता भएको बताए ।
गतवर्ष भन्दा यसवर्ष १ सय ७१ ओटा यस्ता मुद्दामा बृद्धि भएको उनले बताए । भक्तपुरमा सवारी ज्यान एकदमै बढेको बताउँदै उनले यो वर्ष ३४ जनाको सवारी दुर्घटनामा ज्यान गएको र ४४ जनाले आत्महत्या गरेको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, सूचना अधिकार समाजका अध्यक्ष सोम शर्मा (बजगाई)लगायतले मानव अधिकार हनन्का घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
यसैबीच कार्यक्रममा मानव अधिकार सञ्जालकी संयोजक जुना बस्नेत सूर्यविनायक नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएकाले उनलाई बिदाई गरी सञ्जालको संयोजकमा सर्वसम्मत रूपमा रोशनराज अर्याल र सदस्यमा पत्रकार पशेल आचार्यलाई चयन गरिएको छ ।
इन्सेक सुनसरी जिल्ला प्रतिनिधि शेखर ढकालका अनुसार मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सुनसरीमा सङ्कलित घटनाको जेठ ३१ गते इटहरीमा पूर्व समीक्षा गरिएको छ ।

इन्सेक सुनसरीको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख झङ्कर रावलले मानव अधिकारको संस्कृति विकासमा इन्सेकले निकाल्दै आएको पुस्तक महत्वपूर्ण भएको बताए । उनले घटनाहरू सङ्कलन गरेर त्यसलाई तथ्यगत बनाउने कार्यले अझ विश्वसनीय भएको बताए ।
कार्यक्रमबारे प्रष्ट्याउँदै इन्सेकका प्रलेख अधिकृत देवराज पोखरेलले इन्सेकले देशभरका घटना सङ्कलन गरेर त्यसको तथ्यलाई परीक्षण गरेर मात्र वर्ष पुस्तकमा प्रकाशन गरिने बताए । पुस्तक प्रकाशन भएपछि तथ्य सच्याउन नसकिने भएकाले प्रकाशन पूर्व नै समीक्षा गरिएको बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर चिरञ्जिवी दाहालले इन्सेकको वर्ष पुस्तकले मानव अधिकारको अध्ययन गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि शेखर ढकालले ६ महिनामा सुनसरीमा सङ्कलित २१ ओटा घटना सार्वजनिक गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार क्षेत्रीय कार्यालय विराटनगरसँगको सहकार्यमा स्थानीय निर्वाचन र मानव अधिकारको विषयमा अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा पत्रकार महासङ्घ सुनसरीकी उपाध्यक्ष शुभद्रा प्याकुरेल, उद्योग बाणिज्य सङ्घ इटहरीका कोषाध्यक्ष कमल पौडेल, एमाले प्रतिनिधि शिव पराजुलीलगायतले स्वच्छ र धाँधली रहित निर्वाचनका लागि सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
अनलाइन डेस्क