नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ९ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नबिनबाबु अधिकारीले ०७८ पुस १७ गतेदेखि ०७९ मङ्सिर २९ गतेसम्म सङ्कलन गरिएका ७७ ओटा घटनाहरू प्रस्तुत गर्नु भएको छ ।
बलात्कार ३१, घरेलु हिंसा २१, बलात्कार प्रयास ९, बहुबिवाह ७, कुटपिट ३, बाल यौन दुर्व्यवहार २, बाल विवाह १, शारीरिक बन्धक १, बैवाहिक बलात्कार १, आत्महत्या दुरुत्सहान १ गरि ७७ ओटा रहेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति उप–प्रमुख शान्ता कार्कीले इन्सेकले अभिलेख गरेका घटनाले जिल्लाको मानव अधिकारको अवस्था चित्रण गरेको बताउनुभयो । जिल्लाका स्थानीय तहलाई मानव अधिकार मैत्री बनाउनु पर्ने र यस तर्फ स्थानीय तहका प्रमुख उपप्रमुखलाई आवश्यक योजना निर्माण गरि कार्यान्वयन गर्न तर्फ आफुले सजग गराएको बताउनुभयो । प्राप्त तथ्याङ्कका आधारमा बालिका र महिला पीडित भएको र पीडितलाई न्याय दिलाउन र पीडकलाई कानुनी दायरामा ल्याउन जिम्मेवार निकायहरुले आफ्नो कर्तव्य पुरा गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य विमला पाण्डेले इन्सेकले अभिलेख गरेका घटनाहरू मानवअधिकारको दृष्किोणबाट सङ्कलन भएको बताउनुभयो । उहाँले सरकारी कार्यालयहरू मानव अधिकारमैत्री नहुँदा नागरिकहरूले सहजै सेवा प्राप्त गर्न नसकेको बताउनुभयो । कानुनको कार्यान्वयन गर्ने जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाटै मानव अधिकार उल्लंघन भएको बताउनुभयो । जसबाट नागरिकले नागरिकता लिन समस्या झेल्नु परेको बताउँदै नागरिकता प्रदानमा समस्या झेल्नु परेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर शत्रुधन कुमार महत्तोले महिला बालबालिका तथा जेष्ठ नागरिकहरूको सेवा प्रवाहमा कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । पीडितहरूलाई न्याय प्रदान गर्ने सवालमा प्रहरी सदैव जिम्मेवार भएर लागेको र लाग्ने बताउनुभयो । जनताको सेवा गर्ने प्रहरीले गल्ति गरे प्रहरी नै कारबाहीको दायरामा आएको बताउँदै उहाँले मानव अधिकारको रक्षा गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले राज्य नागरिकमैत्री हुनु पर्नेमा जोड दिनुभयो । पीडितमैत्री र नागरिकमैत्री राज्य नहुँदा पीडितले न्याय पाउन नसकेको, सामान्य नागरिक अझै पनि सेवाका लागि राज्यका निकायसँग सहजै जान सक्ने वातावरण नभएको बताउनुभयो ।
अन्तरपाटि महिला सञ्जाल सिन्धुलीकी अध्यक्ष सविता कोइरालाले महिला सधैँ अन्यायमा परेको बताउनुभयो । अब छोरीहरूलाई सुरक्षित राख्न सक्ने अवस्था नरहेको भन्दै घरपरिवार, समाज र जिनेजानेका व्यक्तिबाट अवोध बालिका पनि बलात्कारको शिकार भएको इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको बताउनुभयो ।
समाजमा दबाउँदादबाउँदै न्यायको लडाइमा आएको यो तथ्याङ्कले न्याय पाउनेमा अझै शंका रहेको बताउनुभयो । यो तथ्याङ्कक सार्वजनिक भै रहँदा सबै सरोकारवाला निकायहरू एक जुट हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला न्यायाधिश बाबुराम सुवेदी र त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द रोकायाले सार्वजनिक कानुनको सबैले पालना गर्नु पर्ने बताउनु भयो ।
