INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सरोकारवालाहरूबिच अर्धवार्षिक समीक्षा असार ३१ गते बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसीले रुपन्देही जिल्लामा ६ महिनामा सङ्कलन गरेका  घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जिल्लामा सन् २०२१ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा  २ सय ७२ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु अभिलेख गरेको छ ।

जसमध्ये महिला बलात्कार र बलात्कार प्रयासका १७ ओटा,  बालिका बलात्कार, बलात्कार प्रयास र यौन दु्र्व्यवहारका ३४ ओटा, मानव बेचविखन तथा ओसार पसार एउटा, परिवारजनबाट हत्या तीन ओटा, बहुविवाहका दुई ओटा र घरेलु हिंसाका २ सय १५ ओटा घटना रहेका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त प्रमुख सन्तोष आचार्यले मानव अधिकारको सङ्रक्षण र प्रबद्र्धनमा नेपाल मानव अधिकार वर्ष पुस्तक  महत्वपूर्ण दस्तावेज भएको  बताउनु भयो ।

आचार्यले इन्सेकले वर्ष पुस्तकमा अक्सिजन नपाएर मृत्यु भएका नागरिकहरूको घटनालाई पनि समेटनु पर्ने सुझाव दिनु भयो ।

गैरसरकारी संस्था महासंघ नेपालका उपाध्यक्ष सुमित्रा शर्माले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कमि आएको जस्तो देखिएता पनि घरेलु हिंसाका घटना अझै बाहिर आउन नसकेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले मानव अधिकार वर्ष पुस्तकमा स्थानीय न्यायिक समितिमा आएका घटनाहरूको पनि अभिलेख राख्न सुझाव दिनु भयो ।

अन्य

भिडियो