अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि जिल्लामा सङ्कलित घटनाहरूको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३१ गते धुलिखेलमा सम्पन्न भयो ।
कार्यक्रममा जिल्लाको मानव अधिकार अवस्था बारेमा इन्सेक जिल्ला प्रतिनिधिले सन २०२१ को ६ महिना (जनवरीदेखि जुनसम्म) को मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको प्रतिवेदन प्रस्तुत गर्नुभको थियो ।
यस अवधिमा इन्सेकले काभ्रेमा ३१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू अभिलेख गरेको छ ।
कार्यक्रममा मानवअधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको विषयमा सरोकारवाला निकायले सुझाव दिएको राखेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्रका प्रमुख सीता श्रेष्ठले जिल्लामा पछिल्लो समय अपङ्गता भएको बालबालिका र महिलाहरूमा बलात्कारको घटना बढेको बताउनु भयो ।
अभिलेख गरेको घटनाहरूको बारेमा जिल्ला बार एसोसिएसन नेपालका अध्यक्ष देवकुमार मोक्तनले पीडितलाई न्यायको लागि भएको प्रगति पनि राख्न सुझाव दिनु भएको थियो ।
उहाँले इन्सेक काभ्रेले हरेक वर्ष अर्धवार्षिक र वार्षिक रूपमा मानव अधिकार हननका घटनाहरूको अभिलेखीकरण गरी पूर्व समीक्षा गर्दै आइरहेकोले यस अभियानमा सबै सरोकारवालाले साथ दिनुपर्ने बताउनु भयो ।
द्वन्द्वको समयमा राज्यले राख्न नसकेको अभिलेख इन्सेकले राखेर राज्यलाई सहयोग पुर्याएको पत्रकार महासङ्घ काभ्रेका सचिव कपिल कोइरालाले बताउनुभयो ।
यस अवधिका जिल्लामा भएका २३ ओटा बलात्कारका घटनामा आठ जना बालिका, तीन जना आपाङ्गता भएका सहित १२ जना महिला बलात्कार पीडित भएका छन् ।
यसैगरी अन्यपक्षबाट तीन जनाको हत्या, नेत्रविक्रम चन्द विप्लव समूहको दुई घटनामा तीन जना गिरफ्तारपछि रिहा र तीन ओटा बहुविवाहको घटना अभिलेखीकरण गरेको छ ।