नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ३१ गते सरोकारवालाबिच समीक्षा कार्यक्रम गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच पूर्व समीक्षा गरिएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बन्दना राईले इन्सेकले मानव अधिकारको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै मानव अधिकारको क्षेत्रमा सबैको समन्वय र सहकार्यमा भए जिल्लालाई मानव अधिकारमैत्री जिल्ला बनाउन सकिने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्दराज काफ्ले पछिल्लो समय जिल्लामा आत्महत्याका घटनामा वृद्धि भएकाले त्यसको कारण खोज्न आवश्यक रहेको बताउनु भयो । उहाँले मानिसको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारमाथि कोही कसैबाट अवरोध भए व्यक्तिले आत्महत्याको बाटो रोज्ने भएकाले त्यसको कारण खोज्न आवश्यक रहेको बताउनु भयो ।
सिद्धिचरण नगरपालिकाकी उपप्रमुख इच्छाकुमारी गुरुङले नगरपालिकाले मानव अधिकार संरक्षणका लागि असहाय महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, बेपत्ता पारिएका नागरिकहरू र एकल महिलाहरूको क्षेत्रमा काम गरीरहेको बताउनु भयो । उहाँले नगरपालिकाभित्र सडक बालबालिकाको बढेकाले त्यसको न्यूनीकरणका लागि अधिकारको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले अभियान चलाउन आवश्यक रहेको बताउनु भयो ।
जिल्लामा सन् २०२१ को ६ महिनाको अवधिमा २९ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको थियो । बलात्कार र बलात्कार प्रयासका नौ ओटा, बाल यौन दुर्व्यवहारका चार ओटा, घरेलु हिंसाका १५ ओटा र कुटपिटको एक ओटा घटना जिल्लामा अभिलेखीकरण गरिएको छ ।


