नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि काठमाडौँ जिल्लाको सङ्कलित घटनाहरूको वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस १८ गते सम्पन्न भएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि इन्सेकका काठमाडौं जिल्ला प्रतिनिधि बिमला पौडेलले सन् २०१९ मा सङ्कलन गरेका मानव अधिकार उलङ्घन तथा ज्यादतिका घटनामा सबैभन्दा बढी महिला तथा बालबालिका पीडित भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

पौडेलले प्रारम्भिक तथ्याङ्क अनुसार बालिका बलात्कारका १ सय र महिला बलात्कारका ७९ जना पीडित भएको अभिलेख प्रस्तुत गर्नुभयो । यसैगरी बालिका बेचविखन १०, बालिका बलात्कार प्रयास १५, महिला बेचविखन २९, बहुविवाह ७१ ओटा घटना भएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालिमाटीका इन्सपेक्टर ज्ञानमञ्जरी शर्माले घरेलु हिंसामा परेका महिलाहरू उजुरी गर्न प्रहरीसम्म आए पनि त्यस्ता मुद्दा अगाडि नबढाउ माथिल्लो निकायबाटै दबाब आउँदा काम गर्न असहज हुने गरेको बताउनुभयो ।
कार्यक्रममा लैङ्गिक हिंसा नियन्त्रण संञ्जाल काठमाडौँकी सदस्य रसना ढकालले समाजमा यस्ता थुप्रै घट्नाहरू भएको बताउनुभयो । ती घट्नाहरू सामाजिक दवाव र महिलाहरूलाई बैकल्पिक समाधानको उपायहरू नहुनु नै मुख्य समस्या भएको ढकालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै इन्सपेक्टर शर्माले वर्सेनि मानवअधिकार उलङ्घन तथा ज्यादतिका घटनाहरू समेटेर प्रकाशन हुने वर्ष पुस्तक र इन्सेकको अभियानले मानव अधिकार संरक्षण तथा तीनीहरूको एकिन तथ्याङ्कले देशको मानव अधिकारको तथ्याङ्क समेत उपलब्ध हुने बताउनुभयो ।
जुन तथ्याङ्कले मानव अधिकार हननमा कमि ल्याउन तथा मानव अधिकार संरक्षणमा सहयोग गर्न समेत सहयोगी भूमिका निर्वाह गरेकोमा इन्सेकलाई धन्यवाद समेत दिनुभयो ।