INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेख, महोत्तरी, बैतडी सङ्खुवासभा तेह्रथुम र इलाममा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ ।

इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले इन्सेकले प्रकाशन गर्दै आएको मानव अधिकार हनन्का घटनाको दस्तावेजीकरणले समाजको सचेतना स्तर उठाउन सहयोग पुगेको बताएका छन् ।

Photo20171226Dailekh

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि इन्सेकले दैलेखमा सन् २०१७ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका विषयमा पुस १० गते आयोजित पूर्व समीक्षा कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा सरोकारवालाले राखेको जिज्ञासाको जबाफ दिँदै सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले अर्धन्यायिक निकायले पनि कानुनसम्मत आएका उजुरीको छिटोछरितो न्याय निरूपण गर्ने गरेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका असई विष्णुदेवी गैरेले प्रहरी, महिला तथा बालबालिका कार्यालयलगायत सरकारी तथा गैरसरकारी संस्थासँगको समन्वयमा सामाजिक सचेतना कार्यक्रमका कारण महिला हिंसा र घरेलु हिंसाका घटना अघिल्लो वर्षको तुलनामा सङ्ख्यात्मक रूपमा न्यून भएको बताइन् ।

छलफलको क्रममा कक्षामा पढाइरहेको अवस्थामा पुस ९ गते शिवशक्ति मावि दफेनालीका शिक्षक नमराज नेपाली माथि नेपाल तरूण दलका जिल्ला सभापति लालबहादुर चन्दले कुटपिट गरेको घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न प्रहरी प्रशासनलाई सहभागीहरूले आग्रह गरेका थिए ।

इन्सेक प्रतिनिधि सुनारले सन् २०१७ को जनवरी यता व्यक्तिगत हत्याका चार, बहुविवाहका पाँच, बालविवाहका तीन, बलात्कारका दुई, जातीय विभेदका दुई, कुटपिटका पाँच ओटा घटना र घरेलु हिंसाका २३ ओटा घटना समेत गरी ४३ ओटा घटना सङ्कलन गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ११ गते सम्पन्न गरिएको छ ।

Photo20171226Mahottari

कार्यक्रममा इन्सेक प्रतिनिधि साहले सन् २०१७ को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका ३ सय ४ ओटा घटना प्रस्तुत गरेका थिए ।

प्रस्तुत घटनामध्ये राज्य पक्षबाट दुई ओटा र गैरराज्य पक्षबाट ३ सय २ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना रहेको जनाइएको छ । ती घटनाहरूमध्ये महिला तथा घरेलु हिंसाका २ सय ७६ ओटा, बलात्कार तथा बलात्कार प्रयासका १२ ओटा, बहुविवाहका पाँच, हत्या आठ र यातनाका दुई घटनाहरू सार्वजनिक गरेका थिए ।

कार्यक्रममा मानव अधिकारको रक्षा गर्न राज्य जिम्मेवार र गम्भीर भएर लाग्नु पर्ने सहभागी सरोकारवालाहरूले बताएका छन् ।

समीक्षा कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले हिंसारहित समाज निर्माणको लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरू एक आपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

एसपी कडायतले मानव अधिकार संरक्षणको क्षेत्रमा इन्सेकले वार्षिक रूपमा प्रकाशित गर्ने गरेको पुस्तक साँच्चै सरहानीय कार्य रहेको बताए । इन्सेकले मानव अधिकार उल्लङ्घन भएको घटनाहरूलाई अभिलेखीकरण गर्ने कार्यले गर्दा राज्यपक्ष पनि सचेत हुने गरेको बताउँदै एसपी कडायतले इन्सेकले हरेक वर्षप्रकाशित गर्दै आइरहेको मानव अधिकार वर्षपुस्तकमा सत्यतथ्य घटनाहरू मात्रै प्रकाशन हुने गरेकाले यसको विश्वनीयता पनि बढ्दै गएको बताए ।

राज्यले गर्न नसकेको कार्य इन्सेकले अभिलेख राखेर जानकारी गराउँदै आएको कार्य प्रशंसनीय रहेको बताउँदै नेपाल बार एसोसिएशन महोत्तरीका सदस्य अधिवक्ता विक्रु यादवले अझै जिल्लामा देखिएका सामाजिक सांस्कृतिक, खाद्यान्न, शैक्षिकलगायतका घटनाहरूको समेत अभिलेखीकरण गर्न सुझाव दिए । उनले मानव अधिकार संरक्षण र सम्बर्द्धन गर्न राज्यका निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले वर्षपुस्तक तथ्यहरूमा आधारित भएकोले यसले सरकारले पुरा गर्नु पर्ने दायित्वहरू पुरा नगर्दा हुने मानव अधिकार हनन्का विषयहरू समेट्नु पर्ने धारणा व्यक्त गरे । उनले समाजमा हुने विभिन्न किसिमको मानव अधिकार उल्लङ्घनको घटनाहरू कम गर्नको लागि समाजिक जनचेतनाको कार्यक्रम गाउँगाउँमा पुर्‍याउनु पर्ने र दण्डहीनताको अन्त्य गरिनुपर्ने बताए ।

इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरि बडुका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ प्रकाशन पूर्व आयोजित समीक्षामा सहभागी सरोकारवालाहरूले बालिका बलात्कारका घटना डरलाग्दो रूपमा रहेकाले सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

इन्सेकको तथ्याङ्क अनुसार सन् २०१७ मा मात्रै जिल्लामा चार जना बालिका बलात्कृत भएका छन् । जसमध्ये १ बालिकाको बलात्कारपछि हत्या भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । यस वर्षअन्य दुई महिला बलात्कृत भएको तथ्याङ्क छ ।

इन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा ६० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखित छन् ।

समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले हत्या र बलात्कारका घटनाहरूमा आफ्नो ध्यान केन्द्रित भएको र यस्ता घटनाहरूलाई कम गर्न सबै सरोकारवालाहरू एक भएर लाग्नुपर्ने बताए ।

इन्सेक सङ्खुवासभा जिल्ला प्रतिनिधि बावुराम बास्तोलाका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ११ गते सदरमुकाम खाँदबारीमा सम्पन्न भएको छ ।

Photo20171226Sankhusabha

कार्यक्रममा इन्सेक प्रतिनिधि बास्तोलाले नेपाल मानव अधिकार वर्षपुस्तकमा समावेश गरिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समावेश गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा सन् २०१७ मा ३१ ओटा मानव अधिकार हनन् तथा ज्यादतीका घटना समावेश गरिएको छ । प्रतिवेदनमा एक वर्षको अवधिमा जिल्लामा पाँच जनाको हत्या भएको घटना समेटिएको छ ।

त्यस्तै बलात्कारको एक र बलात्कार प्रयासका दुई, महिला हिंसा तथा घरेलु हिंसाका घटना पाँच, कुटपिट तथा धम्कीका नौ, बाल हिंसाको एउटा घटना समेटिएको छ । सङ्खुवासभामा सन् २०१६ मा कुनै पनि हत्याका घटना भएका थिएनन् यो वर्षपाँच जनाको हत्या भएको छ ।

इन्सेकले प्रस्तुत गरेको मानव अधिकार हनन् तथा ज्यादतीका घटना समेटिएको प्रतिवेदनमाथि समीक्षा गर्दै गैरसरकारी क्षेत्रका अगुवाहरूले राज्यलाई जिम्मेवार बन्न ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले इन्सेकले प्रकाशित गर्दै आएको मानव अधिकार वर्षपुस्तकले मानव अधिकार प्रवर्धनमा सहयोग पुगेको बताए । सबै पक्षको समान सहभागिताले मात्रै मानव अधिकार प्रवर्धन हुने उल्लेख गर्दै प्रमुख शाक्यले इन्सेकले मानव अधिकार वर्षपुस्तकको क्षेत्र बढाउनुपर्ने सुझाव दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले मानव अधिकारलाई सापेक्षित रूपमा हेर्नु पर्ने भएकोले नेपालको परिवेशमा गास, बास र कपासलगायतका आधारभूत आवश्यकताका विषयलाई उठान गरेर लानु पर्नेमा जोड दिए ।

उनले वर्षपुस्तक तथ्यहरूमा आधारित भएकोले यसले सरकारले पुरा गर्नु पर्ने दायित्वहरू पुरा नगर्दा हुने मानव अधिकार हनन्का विषयहरू समेट्नु पर्ने धारणा व्यक्त गरे । उनले राज्य पक्षबाट भन्दा गैरराज्य पक्षबाट मानव अधिकार उल्लङ्घनका घटना बढी हुने गरेको पाइएकाले मानव अधिकार उल्ल‹नका घटना हुन नदिनका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए ।

खाँदबारी नगरपालिकाकी उपप्रमुख डेगेश्वरी श्रेष्ठले महिलाका कारण पीडित भएका पुरूषका सवाल पनि राख्न सुझाव दिइन् । उनले सामाजिक सञ्जालको दुरूपयोग र वैदेशिक रोजगारीले नेपालीका धेरै परिवारमा बिखण्डन आएकाले त्यस्ता विषय पनि मानव अधिकार वर्षपुस्तकमा समावेश गर्नु पर्ने बताइन् ।

नेपाल पत्रकार महासङ्घ सङ्खुवासभाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले घटनाहरूको अभिलेख राख्ने भएकाले तुलनात्मक अध्ययन गर्न सहज भएको बताए ।

सहभागिहरूले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अनुगमन गरी ती सवालहरूलाई उजागर गर्नुपर्नेमा जोड दिएका थिए ।

इन्सेक तेह्रथुम जिल्ला प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेह्रथुमको आयोजनामा पुस ११ गते नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि वार्षिक रूपमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

Photo20171226Terhathum1

मानव अधिकार हननका घटना सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण गर्न सञ्चारकर्मीको समेत भूमिका हुने भएकोले यसबारे सबै सञ्चारकर्मी सचेत रहनु पर्ने बताए । पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष नरेश ढुङ्गानाले अझै पनि महिला असुरक्षित रहेको बताए ।

समीक्षा कार्यक्रममा सन् २०१७ जनवरी १ देखि डिसेम्बरसम्ममा हत्यको एउटा, कुटपिटका चार, बलत्कारका आठ, घरेलु हिंसाका पाँच र बहुविवाहका दुई ओटा घटना प्रस्तुत गरिएको छ ।

इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार विभिन्न घटनाबाट पीडित भएका व्यक्तिलाई राहत दिने किसिमको कानुन आवश्यक भएको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमका सहभागीले धारणा राखेका छन् ।

Photo20171226Ilam

पुस ११ गते आयोजित कार्यक्रमका सहभागीले वर्षेनी मानव अधिकार हनन् र ज्यादतीका घटना बढ्दै आएपछि त्यसबाट पीडित हुनेलाई उचित राहत आवश्यक भएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले इन्सेकले अभिलेख राखेका घटनालाई हेर्दा पनि बालिका बलत्कारका घटनाको सङ्ख्या वर्षेनी बढेको अवस्थामा घटनामा पीडित भएकालाई राहत तथा पुनःस्थपनाका लागि पहल गर्न र स्थानीय तहले पनि त्यही किसिमको कानुन निर्माण गर्न आवश्यक रहेको बताए । उनले भने-‘चार वर्षको तथ्याङ्कलाई हेर्दा वर्षेनी बालिका बलात्कार, घरेलु हिंसा जस्ता घटना बढेका छन् । यो सचेतनाको कारणले बाहिर आउन सकेको हो यात घटना हुने क्रम बढेरै आएको हो यसमा गम्भीर हुनुपर्ने अवस्था छ ।’

Photo20171226Ilam1

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले नेपाल मानव अधिकार वर्षपुस्तकमा समेटिने घटनाहरू सही र तथ्यपरक हुन जरूरी रहेको बताए ।

कार्यक्रममा इन्सेक प्रतिनिधि ढकालले मानव अधिकार वर्षपुस्तकमा समेटिने घटनाहरूको विवरण प्रस्तुत गरेकी थिइन् ।

प्रस्तुत विवरण अनुसार सन् २०१७ मा इलाममा १९ बालिका, ११ महिला गरी ३० जना बलात्कार  घटनाबाट पीडित भएका छन् ।

बहुविवाहका तीन, घरेलु हिंसा ६७, बन्द हड्ताल चार दिन, जातीय विभेदको एक, बालक कुटपिट तीन, हत्या दुई र मानव बेचबिकोखन एउटा घटना भएको विवरणमा उल्लेख छ ।

अनलाइन डेस्क

अन्य

भिडियो