नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ का लागि २०२५ जनवरीदेखि डिसेम्वरसम्म दाङमा अभिलेख गरिएका घटनाहरुको प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २४ गते घोराहीमा सम्पन्न भयो ।
मानवअधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको अध्यक्षता तथा घोराही उमनपाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनअनुसार दाङमा मानवअधिकार सम्वन्धी १ सय ५६ वटा घटना भएका छन् । जसमा सबैभन्दा धेरै ४९ वटा बलात्कारका घटना भएका छन भने ११ वटा यौन दूर्व्यवहार र ४ वटा बलात्कार प्रयास गरी ६४ वटा बलात्कारजन्य घटना भएका छन् । जसमा ४८ जना वालिका बलात्कारजन्य घटनामा परेका छन् । यसैगरी घरेलु हिंसाका ४४, पारिवारिक हत्या ८, हत्या प्रयास ६, भ्रुण हत्या ३, आत्महत्या दुरुत्साहन १, मानव वेचविखन तथा ओसारपसार १, अपहरण तथा शरिर वन्धक १, कुटपिट ६, बालविवाह २, अमानवीय व्यवहार २, दुव्र्यवहार ९, तालावन्दी १, खाद्य अधिकार १, कारागारमा मृत्यु १ र आगजनीका ६ वटा घटना भएको इन्सेक अभिलेखले देखाएको छ । यी घटनामध्ये सबैभन्दा धेरै १ सय ४९ वटा घटना गैरराज्य पक्षबाट भएका छन भने ५ वटा राज्य पक्ष र २ वटा अज्ञात पक्षबाट भएको पाइएको छ ।

कुल १ सय ५६ वटा घटनामा १ सय ५९ जना पीडित भएका छन् । जसमा ४८ बालिका र ७० महिला पीडित भएका छन् । यी घटनाका १ सय ६७ जना आरोपित छन । यसैगरी इन्सेकले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्लामा ५० वढि सरकारी कार्यालयमा तोडफोड र आगजनी हुँदा १ अर्व १४ करोड वढिको सरकारी सम्पत्तिको क्षति भएको र जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले, तत्कालिन नेकपा माओवादी केन्द्र, राप्रपालगायतका पार्टीका १० वटा कार्यालय तोडफोड, आगजनी गरि क्षति पु¥याएको उल्लेख गरेको छ । यस्तै जिल्ला बार इकाई, त्रिभुवननगर जेसीज, होटेललगात एक दर्जन सामाजिक संघ संस्था र जिल्लास्थित पार्टीका नेता, जनप्रतिनिधिका गरी ९ वटा घर तथा सम्पत्तिमा क्षति पु¥याएको उल्लेख गरेको छ । यसैगरी बंगलाचुलीका विभिन्न स्थानमा चुनढुंगा उत्खनन् र ढुवानीमा गरेको असावधानीले नागरिकहरु धुलो, धुवाँ, ध्वनी प्रदूषण खेपीरहेको भन्दै उनीहरुको मानवअधिकार हनन् भएको बताएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी घोराही उमनपाकी उपप्रमुख हुमाकुमारी डिसीले मानवअधिकार वर्ष पुस्तकले सरकारलाई झकझक्याउने काम गरेको बताउनुभयो । वर्ष पुस्तकले जिल्लाको मानवअधिकार अवस्था उजागर गरेको भन्दै सत्यतथ्य उजागर गरेर मानवअधिकारका पक्षमा काम गर्न प्रोत्साहित गरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङका असइ सन्ध्या गिरीले मानवअधिकारमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लगिने बताउनुभयो । सो अवसरमा जिल्ला बार इकाइ दाङका अध्यक्ष गोमा महराले मानवअधिकार संरक्षणमा वर्षपुस्तकले भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाज दाङका हरिप्रसाद पाण्डे, मानवअधिकार रक्षक लक्ष्मी आचार्यलगायतले वर्षपुस्तकलाई थप परिस्कृत लैजानुपर्नेमा जोड दिनुभयो ।

