अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले उदयपुर र सर्लाहीमा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ ।
इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार सन् २०१७ मा उदयपुरमा ६३ ओटा मानव अधिकार विरूद्धका घटनाहरू अभिलेख गरिएको छ ।

मानव अधिकार वर्षपुस्तक-२०१८ प्रकाशनको पुर्वसन्ध्यामा पुस १५ गते आयोजित प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि भरत खड्काले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
अभिलेखित घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसाका घटना १७ ओटा रहेका छन् । यो अवधिमा एक जना बालिकाको बलात्कारपछि हत्या भएको घटना पनि अभिलेख गरिएको छ । बालिकामाथि बलात्कारका १७, यौन दुर्व्यवहारका चार, महिलामाथि बलात्कारका ६, बलात्कारको प्रयासका ६, वहुविवाहका सात, मानव बेचबिखन तीन, बम विष्फोटको एउटालगायतका घटना अभिलेखीकरण गरिएको इन्सेक प्रतिनिधि खड्काले बताए ।

उम्मेदवारलाई लक्षित गरी गरिएको बम विष्फोटनबाट सात जना घाइते भएका छन् भने उम्मेदवारको घरमा बम पड्काउने, कार्यक्रममा विष्फोट गराउने जस्ता गतिविधि पनि सन् २०१८ मा भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले इन्सेकको तथ्याङ्क समाजले राखेको चाहाना तथा गरेको आशा भन्दा बेग्लै रहेको बताए । उनले इन्सेकको वर्षपुस्तक मानव अधिकारको उत्कृष्ट दस्तावेज भएकाले समाजले चाहेको भन्दा अलिक फरक रहेको बताए ।

उनले वर्षपुस्तक मानव अधिकारसम्बन्धी गतिलो दस्तावेज भएको हुँदा यसमा समेटिने घटना सत्यतथ्यमा आधारित रहनु पर्नेमा जोड दिए । उनले घटनाको सम्वेदनशीलतालाई हेरी अभिलेखीकरण गर्नु पर्ने बताए ।
जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले घटना बढ्नु र घट्नु दुवैमा सचेतनाको महत्वपूर्ण भूमिका हुने औँल्याए । कार्यक्रममा मानव अधिकार सञ्जालका अध्यक्ष भरत खड्काले घटनाको अभिलेखिकरणसँगै जिम्मेवार निकायलाई जबाफदेही बनाउन जिल्लास्तरीय कार्यक्रमहरूको आयोजना गर्नु पर्ने बताए । उनले जिल्लामा लागुऔषध र बलात्कारका घटनामा बृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै न्यूनीकरण गर्ने गरी अभियानहरू सञ्चालन गर्नु पर्ने बताए ।
नेकपा एमालेका जिल्ला सचिव परमेश्वर घिमिरेले समन्वयको अभावमा अझै कतिपय घटनाहरू बाहिर आउन नसकेको बताए । उनले स्थानीय तहमा मेलमिलाप गराइएका घटनाको पनि अभिलेखीकरण गर्न इन्सेकलाई सुझाव दिए ।
सङ्घीय समाजवादी फोरमका केन्द्रिय सदस्य रामप्रसाद रिजालले मुलुकमा दण्डहीनता बढ्दै आएको बताए ।
इन्सेक सर्लाही जिल्ला प्रतिनिधि सन्तोषकुमार सिंहका अनुसार सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले प्रकाशन पूर्व गरिने समीक्षा प्रभावकारी हुने बताउँदै स्थानीय स्तरमा समेत यस्ता समीक्षका कार्यक्रम राख्नुपर्ने बताए ।

सर्लाहीको हरिवनमा पुस १४ गते आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ का लागि पुर्व समिक्षा कार्याक्रम प्रमुख जिल्ला अधिकारी कटुवालले नेपालमा मानव अधिकारको क्षेत्रमा इन्सेकले निर्वाह गर्दै आएको भुमिकाको प्रसंशा समेत गरे । समीक्षा कार्यक्रममा अधिकारकर्मीहरूलाई मात्रै नभएर पीडितहरूलाई समेत सहभागी गराउन उनले सुझाव दिए ।

कार्यक्रमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी राजेश थापाले जिल्लाहरूमा भएका घटनालाई समावेश गरी देशभरकै घटनाहरू समेटर इन्सेकले प्रकाशन गर्दै आएको वर्षपुस्तक अध्ययन र अधिकारका लागि उपयुक्त भएको बताए ।
समीक्षामा इन्सेक प्रतिनिधि सिंहले एक वर्षको अवधिमा पाँच जनाको हत्या, गोली प्रहारबाट दुई जना घाइते, एक जनाको अपहरण, कथित बोक्सी आरोपमा एक जनालाई दुर्व्यवहार र १५ जना बलात्कारका घटनाबाट पीडित भएको उल्लेख गरे ।
अनलाइन डेस्क