अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) बागमती प्रदेश संयोजक शिब प्रसाद खकुरेलको नेतृत्वको निर्वाचन पर्यवेक्षण तथा अनुगमन टोलीसँगको छलफलका क्रममा मुख्य निर्वाचन अधिकृत न्यायाधीश कमल प्रसाद आचार्यले आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ , मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
सोही क्रममा उहाँले मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिने लगायतका व्यवस्थापकीय कामहरु सम्पन्न भएको र निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दलहरुबाट आचार संहिता उल्लङ्घनका घटनाहरु नभएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले मतदान केन्द्रमा सुरक्षा संवेदनशीलताको आधारमा निर्वाचनका लागी आवश्यक सुरक्षा व्यवस्था प्रबन्ध गरिएको र कर्मचारी खटन पटन गरिएको बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख हेमबहादुर थापा मगरले निर्वाचनका लागि आवश्यक तयारी पुरा गरिएको, मतदान केन्द्रलाई अपांगमैत्री बनाउन सक्दो प्रयास गरिएको र सबै मतदान केन्द्रमा फागुन १७ गतेभित्र मतदान सामग्री पठाउने व्यवस्था मिलाइएको बताउदै कारागारमा कैदीबन्दीका लागि अस्थाई मतदान केन्द्र समेत स्थापना भएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एस्पी विपिन रेग्मीले निर्वाचनका लागि जिल्लामा सुरक्षा संवेदनशीलताको मध्यनजर गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी गराउदै ४ वटै सुरक्षा निकायसँग नियमित सम्पर्क समन्वय भइरहेको बताउनुभयो ।
अनुगमनका क्रममा इन्सेक बागमती प्रदेशका संयोजक शिव खकुरेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, स्वच्छ र भयरहित बनाउन निर्वाचन पुर्व अनुगमन र पर्यवेक्षणका लागि मुलुकभर २ सय ३२ जना पर्यवेक्षण खटाइएको जानकारी दिनुभयो ।

