INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक समाज र सञ्चार समाजप्रति जवाफदेही हुनुपर्नेमा जोड

नागरिक समाज र सञ्चार जगत समाजप्रति जबाफदेही हुनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

काठमाडौँको बुद्धनगरमा जेठ २७ गते सम्पन्न पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत ‘विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् ।

युएसआइडी, एफएचआई ३६० र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भएको सो कार्यक्रममा वक्ताहरूले नागरिक समाज र सञ्चारजगतले सधैँ राष्ट्र, समाज एवम् जनताप्रति जबाफदेही भएर अगाडि बढनुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका महासचिव बालकृष्ण अधिकारीले नागरिक समाजले आफ्नो समाजमा भइरहेका विकास निर्माणका कार्यक्रममा चासो दिएर निगरानी गर्नुपर्ने बताए । स्थानीय समस्या एवम् गतिविधका विषयमा निरन्तर समाचार प्रकाशन एवम् प्रशारण गर्ने कार्य सञ्चारजगतले गरिरहेको उनले बताए ।

नागरिक समाज र सञ्चारजगत जनता र समाजको आवाज उठाउने तहमा मात्रै रहेको बताउँदै उनले कुनै योजना आफैँ कार्यान्वयन वा निर्णय गर्ने तहमा नागरिक समाज र सञ्चारजगत नभएको बताए ।

प्रेस चौतारी नेपालकी सचिव देविका घर्तिमगरले नागरिक समाजको काम धैरै भए पनि उनीहरूले केवल कार्यक्रममा भाषण एवम् विज्ञप्ति प्रकाशन गरेर आफ्नो जिम्मेवारीबाट पन्छने काम मात्रै भइरहेको बताइन् ।

कानुन व्यवसायी भागवतप्रसाद चौधरीले नागरिक समाज र सञ्चारजगतले समाजमा उच्च कोटीको स्थान बनाएको बताउँदै यि दुवै पक्षले एकअर्कामा सहकार्य गरेर विकासका मुद्दालाई निगरानी गर्नुपर्ने बताए ।

अर्का कानुन व्यवसायी सत्यनारायण डङ्गोलले उपभोक्ता समितिमार्फत कनिका छरेजस्तै बजेटको दुरुपयोग गर्ने काम भइरहेकोप्रति सचेत हुन आग्रह गरे । कतिपय कार्यक्रम लक्षित वर्ग महिला, बालबालिकालगायतका कार्यक्रम प्रभावकारी हुन नसकेको उनको टिप्पणी छ ।

सञ्चारकर्मी लोकश्वरी कुँवरले नागरिक समाज सुकिलामुकिलाहरूकै नियन्त्रणमा परेको आरोप लगाइन् । उनले नागरिक समाजकै अगुवाबाट विकास निर्माणमा चासो नदिने र चासो दिनेले भाँजो हाल्ने काम गर्ने गरेको आरोप लगाएकी छन् ।

सञ्चारकर्मी अशोक लामिछानेले कतिपय ‘एलिट वर्ग’कै व्यक्ति नागरिक समाज भएर हिँडने गरेको तर उनीहरूले नै पारदर्शिता कायम नगर्ने गरेको आरोप लगाए । यस्ता एलिट वर्गका नागरिक समाजका कारण कतिपय कार्य अनियमित तरिकाले हुने गरेको उनले बताए ।

सञ्चारकर्मी ईश्वरी काफ्लेले जनताको सहभागिता बिनाको विकास दिगो एवम् पारदर्शी नुहुने बताउँदै विकासे कार्यमा जनताको सहभागिता हुनुपर्ने बताए ।

1

1

1

1

1

सुभाष साह

अन्य

भिडियो