INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक समाज र सञ्चार जगतबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस १३ गते धुलिखेलमा विकासका लागि नागरिक समाज र सञ्चार जगतबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्तक्रिया कार्यक्रममा इन्सेक प्रदेश तीनका कार्यक्रम संयोजक गणेश भण्डारीले कार्यक्रममा सहभागिलाई स्वागत गर्दै विकास निर्माणमा नागरिक समाज र सञ्चारजगतको एकै ठाउँमा उभिएर सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रे शाखामा अध्यक्ष मोतिराम तिमल्सनाले जिल्लाभित्र सुशासन कायम गर्ने मामिलामा प्रशासन, जनप्रतिनिधि र नागरिक समाजको तारतम्य नमिलेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसीले घरमै सुविधा पु¥याउने जनताको तीव्र चाहनाले विपत्ति र ठूला दुर्घटना निम्त्याएको बताउनुभयो ।

उहाँले भन्नु भयो–‘हाम्रो विकासले तल्लो तहका समुदायले कति लाभ लिन पाएका छन् । त्यसको लेखाजोखा हुनुपर्छ ।’

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष जिताराम लामाले विगतमा मिडिया, सरकार र सामाजिक सङ्घ÷संस्थाहरूको बीचमा आरोप÷प्रत्यारोप चल्ने गरेको स्मरण गर्दै अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो ।

विकास र समृद्धिका लागि सबै तहका सरकार र नागरिक समाज मिलेर जानुपर्ने औँल्याउँदै उनले अन्य देशकोभन्दा नेपालको नागरिक समाजको इतिहास भिन्न भएको बताउनुभयो ।

‘नेपालको नागरिक समाजले नराम्रो कामलाई राम्रो भन्ने गरेको छैन ।’–उहाँले भन्नुभयो–‘संघ÷संस्थाका दर्ता र नवीकरणमा समस्या सिर्जना गर्न खोजिएको छ । कम्पनीतिर घचेट्न खोजिएको छ । सरकारले नागरिकको अधिकार खोस्ने काम नगरोस । संविधानको मौलिक हकमा नै उल्लेख भएको कुरा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठन गर्न पाउने अधिकारमाथि अंकुश लगाउने प्रयास भएका छन् ।’

कार्यक्रममा नेपाल वार एशोसियशन काभ्रेका सचिव मधुसुदन वाग्लेले नागरिक समाज र पत्रकारबिच समन्वय हुन नसक्दा धेरै राम्रा कामहरू ओझेलमा परेको बताउनुभयो ।

कार्यक्रममा सहभागिहरूले उठाएको प्रश्नको उत्तर दिँदै जिल्ला समन्वय समिति काभ्रेकी उप प्रमुख मञ्जु गौतमले जनप्रतिनिधिहरू आफैँ ‘सिंह हुँ’ भन्ने मानसिकताबाट प्रेरित रहेको भन्दै जनताको इच्छा र आकांक्षाभन्दा पनि कर कहाँबाट बढी सङ्लकन गर्न सकिन्छ भन्ने ध्याउन्नमा लागेको बताउनुभयो ।
इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले नागरिक समाज र पत्रारबिचको पारस्पारिक सहयोगले मात्रै सरकारलाई पनि मद्दत पुग्ने भन्दै आगामी दिनमा पनि सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

अन्य

भिडियो