सामूहिक पैरवीका लागि नागरिक समाजका संस्थाहरूले आफूलाई व्यवस्थित र पुनर्गठन गर्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको विकासको लागि नागरिक समाज र सञ्चार जगत्बीच सहकार्य विषयक अन्तरक्रियामा सहभागी नागरिक संस्था र सञ्चार क्षेत्रका अगुवाहरूले नागरिक समाजका संस्थाहरूनै मजबुद नभएकाले पुनर्गठित हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाल बार एसोसिएशन जिल्ला बार इकाईका सचिव टुकराज निरौलाले विकास निर्माणको गुणस्तर र सेवा प्रवाहका विषयमा खबरदारी र पैरवी गर्न सञ्चार संस्था र नागरिक समाजका बीचमा साझा धारणा बन्नु पर्ने बताए ।
उनले खबरदारी गर्ने र छोड्ने होइन निरन्तरता दिएमा मात्रै उपलब्धि हासिल हुने बताए । अहिले विकास भनेको डोजरले सडक निर्माण गर्ने मात्रै बुझाइ रहेकाले लक्षित वर्गको क्षमता विकासका काम नभएकाले स्थानीय सरकारको खबरदारी गर्न आवश्यक भएको बताए ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रमा क्रियाशील संस्था फोडिड नेपालका अध्यक्ष गोपालमान थापाले विकास निर्माणमा गुणस्तर कायम गर्न सामूहिक रूपमा आवाज उठाउन सञ्चारकर्मी र नागरिक समाजले साझा धारणा बनाएर सहकार्य गर्नु पर्नेमा जोड दिए । थापाले पुनः निर्माणका क्रममा अपाङ्गता, ज्येष्ठ नागरिक बालबालिकामैत्री संरचाना नबनेकाले त्यसतर्फ पैरवी गर्न आवश्यक भएको बताए ।
गैरसरकारी संस्था महासङ्घका सचिव टिका भुजेलले सामूहिक प्रयासबाट मात्रै लक्ष्यमा पुगिने भन्दै पत्रकार र नागरिक समाजका संस्थाहरूको साझा मुद्दा विकास निर्माण हुनु पर्ने बताइन् । स्थानीय तहले गैरसरकारी संस्थाहरूलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार नकारात्मक रहेकाले खबरदारी र साझेदारीबाट दुरी घटनाउन सकिने बताइन् ।
ट्रान्सपरेन्सि इन्टरनेशनलका जिल्ला अधिकृत भलामान बिकले स्थानीय सरकारलाई सहयोग र गलत कामका खबरदारीबाटै सुशासन कायम गर्न सफल भइने बताए ।
कार्यक्रममा सहभागीहरूले सञ्चार जगत र नागरिक समाजका संस्थाहरुको सहकार्यबाटै सुशासन स्थापित गर्न सकिने बताएका छन् । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पैरवीका मुद्दा र नागरिक समाजका संस्था कमजोर हुँदा आएका समस्याका बारेमा छलफल गरेका थिए । उनीहरूले सञ्चारमाध्यमले नागरिक समाजका मुद्दालाई पनि उठाउने प्रतिबद्धता जनाएका छन् । छलफलको अन्त्यमा तीन बुँदे निचोड निकालिएको छ ।
पैरवी प्रभावकारी बनाउन नागरिक संस्थाहरूका बीचमै साझेदारी र सहकार्य गर्नुपर्ने, सञ्चार क्षेत्र र नागरिक समाजका मुद्दामा साझा धारणा बनाइ सहकार्यलाई निरन्तरता दिनुपर्ने र स्थानीय सरकारले नागरिक समाजलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सहकार्य र साझेदारीमा काम गर्नुपर्ने निष्कर्ष निकालिएको छ । इन्सेकलाई सहजीकरण गरिदिन सरोकारवालाहरुले आग्रह गरेका छन् ।
नागरिक समाजका संस्थाहरूलाई पर्ने नीतिगत समस्याबारे पैरवी गर्न सञ्चार जगत र गैरसरकारी संस्था महासङ्घसँगको सहकार्यमा सहभागीहरूले जोड दिए ।
शिवप्रसाद ढुङ्गाना