मानव अधिकार वर्ष पुस्तक सन् २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार २१ गते सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश ३ का सांसद प्रदिप कटुवालले नेपालमा अन्तर्राष्ट्रिय मान्यतालाई हेरेर कानुन बनाउँदा अव्यवहारिक भएको बताए ।
उनले प्रदेश ३ ले कानुन बनाउँदा व्यवहारिक पक्षलाई समेत ध्यान दिएर बनाउन थालेको जनाए । कटुवालले मानव अधिकारलाई मध्यनजर गरी कानुन बनिरहेका र बन्नेमा विश्वस्त हुन आग्रह समेत गरे ।
उनले बालविवाहको उमेर २० वर्ष उपयुक्त नभएको समेत बताएका छन् । नागरिकता दिने उमेर १६, मताधिकारको उमेर १८ वर्ष र विहेवारीको उमेर २० वर्षले व्यवहारिक समस्या जन्माएको बताए ।
विवाहको उमेर प्रविधिगत विकास र अन्तर्राष्ट्रिय कानुनी मान्यता अनुसार तोकिनुपर्नेमा समेत जोड दिए ।
‘हाम्रा कतिपय कानुनहरू सामाजिक संस्कार, जातीय संस्कारलाई ध्यान नदिई बनाउँदा अव्यवहारिक भएका छन् ।’–उनले भने ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले मानव अधिकार उल्लङ्घनबाट महिलाहरू नै पीडित भएको तथ्याङ्क बाहिरिरहँदा न्यायिक समितिमा यस्ता घटनाहरू आउन नसकेको बताइन् ।
महिला र बालबालिकाका मुद्दा न्यायिक समितिमा गाउँस्तरबाटै सचेतना दिँदा पनि आउन नसकेको बताइन् । उनले सचेतिकरणमा काम गर्ने संस्थाहरूलाई नगरले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्जल बरालले मानव अधिकार उल्लङ्घन भएर पनि बाहिर नआउने पुरुषहरूका घटनामा सहजीकरण गरी अभिलेखिकरण गर्न इन्सेकलाई सुझाव दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत हुतराज निरौलाले स्थानीय सरकारले व्यक्तिगत घटना दर्तालाई व्यवस्थित गर्न नसकेमा विदेश जानेका घरका महिला र बालबालिकाले ठूलो समस्या ल्याउने बताए ।
कार्यक्रममा सहभागीहरुले इन्सेकले प्रहरी प्रशासन र अदालतमा दर्ता भएका घटनामात्र नभई गाउँगाउँमा लुकेका घटनालाई अध्ययन गर्न सुझाव दिएका छन् ।
उनीहरूले बालविवाह, बहुविवाह, बलात्कार जस्ता घटनाहरू गाउँमै मिलाउने परिपाटीको विकास भएकाले त्यसतर्फ इन्सेकले पहल कदमी लिनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले सन् २०१९ को ६ महिनामा २७ ओटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेकी छन् ।
उनले सार्वजनिक गरेको तथ्याङ्कमा शिशु हत्या, बालिका बलात्कार, बालविवाह र बलात्कार, घरेलु हिंसालगायतका घटना भएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा बालिकाहरू बढी पीडित भएको जनाइएको छ । उनीहरू आफन्त, परिवार र नजिकका व्यक्तिबाट पीडित भएको र जिल्लाको मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको उल्लेख गरिएको छ ।
जिल्लामा यस अवधिमा ११ ओटा बलात्कारजन्य अपराध भएकामा आठ जना बालिका पीडित भएको उल्लेख गरिएको छ ।
यस्तै घरेलु हिंसाका नौ ओटा, बालविवाह, शिशुहत्या, कुटपिटका १-१ ओटा घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


