अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पा र सिरहा जिल्ला प्रतिनिधिहरूले जिल्लास्तरीय पमितिको बैठक सम्पन्न गरिएको जनाएका छन् ।
पाल्पा जिल्लामा सञ्चालन गरेको स्थानीय समुदायलाई सेचत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँगको अनुभव आदानप्रदान बैठक असार २२ गते तानसेनमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक पाल्पा जिल्ला सहजकर्ता यज्ञमूर्ति तिमिल्सिनाले इन्सेकले आर्थिक वर्ष२०७४/ ०७५ मा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-७ खानीगाउँ र वडा नं. ९ चापपानीमा मानव अधिकार निगरानी समूह, युवा समूह, बाल अधिकार चेतना समूह मार्फत सञ्चालन गरिएका गतिविधिहरू र प्रभावकारिताको प्रतिवेदन प्रस्तुत गरे ।
त्यस्तै जिल्ला स्तरमा मानव अधिकार निगरानी समूहमार्फत भएका पहलहरू र त्यसबाट भएका उपलब्धिहरूको सफलताको कथाहरू समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले इन्सेकले लामो समयदेखि मानव अधिकारका घटनाहरूको संकलन र प्रकाशन गर्दै आएको उल्लेख गर्दै अहिले फेरि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृतनराज पौडेलले सानो बजेटमा पनि धेरै उपलब्धिहरू देखाउन सकेको भन्दै धन्यवाद दिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सिरहा जिल्लामा सञ्चालित स्थानीय समुदायको स्वास्थ्य, शिक्षा र खाद्य अधिकारको लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको बैठक असार २२ गते लक्ष्मीपुर पतारी गाउँपालिकामा समपन्न गरिएको छ ।

लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवल्लभ साहको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष साहले इन्सेकले सञ्चालन गरेको परियोजनाले समुदायको अधिकारबारे सचेतीकरण गरी विकासको काममा सहयोग गरेको बताए ।
उनले अधिकारसँगै समुदायहरूलाई कर्तव्यको पनि जानकारी गराउँदै गाउँपालिकाको दुईवटा वडामा मात्रै नभएर सबै वडामा कार्यक्रम सञ्चालन गर्न इन्सेकलाई सुझाए ।

कार्यक्रममा इन्सेक कार्यालय विराटनगरका संयोजक सोमराज थापाले इन्सेकले मानव अधिकारसँगै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको बारेमा समुदायलाई सचेत बनाउन जिल्लामा सञ्चालित परियोजना बारे सरोकारवालाहरूलाई जानकारी गराई आवश्यक सल्लाह सुझाव लिने उद्धेश्यले बैठक आयोजना गरेको बताए ।

कार्यक्रममा सहभागिहरूले इन्सेकले सञ्चालन गरेको परियोजनाले स्थानीय तहको शिक्षा, स्वास्थमा सुधार आएकाले अन्य वडाहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।
अनलाइन डेस्क