INSEC Online

📅 २०८३ जेष्ठ २१

क्यान्सर पीडित अधिकारकर्मीलाई इन्सेकको आर्थिक सहयोग

क्यान्सर पीडित अधिकारकर्मीलाई इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले आर्थिक सहयोग प्रदान गरेको छ ।

सुनसरीको इटहरी उपमहागरपालिका–४ शिशिर टोलीकी ४० वर्षीया अधिकारकर्मी शोभा बजगाईंलाई इन्सेक कोशी प्रदेश कार्यालयले मानव अधिकार सहायता कक्षमार्फत अन्तर्राष्ट्रिय महिला मानव अधिकार रक्षक दिवसको अवसर पारेर ०८२ मङ्सिर १३ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

महिला मानव अधिकारको क्षेत्रमा दुई दशकयता क्रियाशील बजगाईंलाई क्यान्सर देखा परेपछि स्वास्थ्य अधिकार रक्षाका लागि इन्सेक कोशी प्रदेश कार्यालयले १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले बताउनु भयो ।

नेपालको संविधानले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको र सरकारले समेत क्यान्सर रोगलगायत असाध्य रोगको उपचारका लागि आर्थिक सहयोग गर्दै आएकोमा अधिकार क्षेत्रमा क्रियाशील इन्सेकले पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।

इन्सेक कोशी प्रदेश कार्यालयमा स्थापना गरिएको मानव अधिकार सहायता कक्षको निर्णय बमोजिम पीडित बजगाईंलाई घरमै पुगेर आर्थिक सहयोग प्रदान गरिएको संयोजक पोखरेलले बताउनु भयो ।
इन्सेक कोशी प्रदेश कार्यालयका अधिकृत पुण्य अधिकारी, करूण फाउण्डेशन कोशीका संयोजक कमल कोइराला, महिला मानव अधिकार रक्षक सञ्जाल सदस्य एलिना खतिवडा, अधिकारकर्मी हेमन्त पौडेललगायतको उपस्थितिमा अधिकारकर्मी बजगाईँलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो