आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८२ माघ १२ गते रुकुमपश्चिम त्रिवेणी नगरपालिका–६, घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ कालागाउँ बस्ने ३८ वर्षीया रमा पुनलाई कानुनी प्रक्रियामा जानका लागि पाँच हजार रुपियाँ सहयोग गरेको छ । उहाँका पति ३८ वर्षीय लालबहादुर मल्लले मानसिक, शारीरिक र आर्थिक यातना दिइ घर निकाला गरेपछि कानुनी प्रक्रियाका लागि जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको र कानुनी प्रक्रियामा जान आर्थिक अवस्था कमजोर भएको भन्दै ०८२ पुस ८ गते पीडितले इन्सेकमा निवेदन दिनुभएको थियो ।
त्यस्तै भेरीगंगा नगरपाकिला–१० तालबारीका १९ वर्षीय दिपेश नगाललाई कानुनी प्रक्रियामा जानका लागि पाँच हजार रुपियाँ सहयोग गरेको छ । उहाँका बुवा तिलक नगालले दिपेश जन्मेको दोस्रो दिनदेखि आमासहित छोरालाई खान लाउन र घरमा बस्र नदिई वेवास्ता गरेको भन्दै कानुनी प्रक्रियाका लागि अदालतमा मुद्दा दायर गरेकोले आर्थिक सहयोग पाउँ भन्दै ०८२ पुस ११ गते पीडितले इन्सेकमा निवेदन दिनु भएको थियो ।
माघ ७ गते बसेको मानव अधिकार सहायता कक्ष बैठकले रमा पुन मगर र दिपेश नगाललाई पाँच–पाँच हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको थियो । अदालतमा आउँदा जाँदा यातयात, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।