पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूह, युवा समूह र बाल अधिकार चेतना समूहद्वारा सम्पन्न गरिएका कार्यक्रमहरूको प्रभाव र उपलब्धिको बारेमा जेठ २७ गते अनुगमन गरिएको छ ।
परियोजना सल्लाहकार समितिका पदाधिकारी, जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका सदस्य तथा सञ्चारकर्मीहरूको टोलीले स्थलगत अनुगमन गरेको हो ।
टोलीले गुर्भाकोट नपा-१ र २ तथा ४, ५ र ९ वडास्तरीय मानव अधिकार निगरानी समूह (मानिस)का सदस्य, युवा समूह र बाल अधिकार चेतना समूहका सदस्यहरूसँग भेटघाट गरी कार्यक्रमको प्रभाव तथा उपलब्धिहरूको बारेमा सोधपुछ गरेको थियो ।
अनुगमनको क्रममा बाल अधिकार, बालविवाह न्युनीकरण, जातीय विभेदको अन्त्य, युवाको अधिकार, युवाको सहभागिता, शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारको सवालमा सचेतीकरण गर्न र ती अधिकारहरू परिपूर्तिका लागि यस परियोजनाले नमूनायोग्य कार्य गरेको जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले बताए ।
इएलपी कार्यक्रम सुरु भएयता गुर्भाकोट नपा-१, २, ४, ५ र ९ वडाका कृषकहरू पशुपंक्षी, कृषि, तरकारी तथा फलफुलमा लाग्ने रोगको उपचार गर्न सक्षम भएको, स्वस्थ र स्वच्छ वातावरणमा जीउन पाउने अधिकार सुनिश्चित भएको, त्यहाँका सामुदायिक विद्यालयहरूमा अनुशासन कायम भएको विद्यालय पोशाक अनिवार्य भएको र मानव अधिकार संरक्षण सम्बर्द्धनमा सबै सरोकारवालाहरू एकताबद्ध बनेको पाइएको संयोजक सिग्देलको भनाई छ ।
अनुगमनमा संयोजक सिग्देल सह संयोजक देवी भट्टराई, सदस्य वीरसिं घर्ती, गुर्भाकोट नपा नगर स्वास्थ्य प्रमुख किरण वली, नगर पशुसेवा प्रमुख ओमप्रकाश वली, नगर कृषिविकास प्रमुख बन्धुराम चौधरी, जिल्ला स्तरीय मानिसका सदस्य ओमप्रकाश सुवेदी, खगीसरा वली, जगत केसी, सञ्चारकर्मी पुर्णबहादुर खड्का र इन्सेक जिल्ला कार्यक्रम सहजकर्ता दुर्गा थापा सहभागी रहेका थिए ।
दुर्गा थापा