४० वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पीडितका ४५ वर्षीय जेठाजु, ४३ वर्षीय जेठानी, २८ वर्षीय देवर, २६ वर्षीया देवरानी, २८ वर्षीय भतिजा नातापर्ने र २२ वर्षीय छोरालाई जेठ १४ गते गिरफ्तार गरेको छ ।
परपुरुषसँग लागेको आरोपमा आरोपितहरूले जेठ १२ गते मोसो दलेको र जुत्ताको माला लगाएर अमानवीय व्यवहार गर्नुको साथै ढुङ्गामा हात राखेर थिचि दिएको, लगाएको लुगा च्यातेर घर निकाला गरेको भन्दै पीडितले जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयले छलफलका लागि बोलाएर कुरा नमिले पछि गिरफ्तार गरेको थियो । घटनामा सङ्लग्न ७५ वर्षीय ससुरालाई भने प्रहरीले तारेखमा रिहा गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो ।
पीडित महिलालाई जेठ ७ गते घरमा परपुरुषसँग बसेको आरोपमा परिवारका सदस्यहरूले घरमा ताला लगाइदिएपछि नजिकै रहेको माइतीमा गएकी थिइन् । जेठ १२ गते घर फर्किएर ताला तोडेर भित्र पस्न खोज्दा आरोपितहरूले जुत्ताको माला र मोसो लगाउनुको साथै कपडा च्यातेका थिए ।
पीडित एक छोरा र छोरीसँग घरमा बस्दै आउनु भएको थियो । पीडितका पति दोस्रो विवाह गरेर लामो समयदेखि भारतमा बस्दै आएका छन । भने जेठा छोरा बुहारी बाहिर बस्दै अएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।