INSEC Online

📅 २०८३ जेष्ठ २१

मौन अवधिमा जसपा उम्मेदवारको चुनावी भेटघाट

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिका लागू भइसकेको अवस्थमा फागुन १९ गते डाक्नेश्वरी नगरपालिका–५ पातो बजारस्थित डाक्नेश्वरी मन्दिर परिसरमा राजनीतिक गतिविधि भएको पाइएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नं. ४ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार डा. बबि सिंह मधेस प्रदेश ०६–००१ च ००५ नम्बरको स्कर्पियो गाडीमा मन्दिर पुगेर जसपा नगर कमिटी अध्यक्ष ओम प्रकाश यादव, मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य बिन्देश्वर यादवलगायत करिब पाँच जना कार्यकर्तासँग राजनीतिक छलफल गरेको इन्सेक जिल्ला प्रतिनिधि नविन यादवले अनुगमनका क्रममा भेटिएको बताउनु भयो ।

उम्मेदवार सिंहले शम्भुनाथ नगरपालिका–अर्नाहा तर्फ फर्किने क्रममा बाटोमा गाडी रोकी करिब ४५ वर्षीया एक महिलालाई जसपा नेपालको चुनाव चिन्ह अंकित गुलाबी रङ्गको छाता वितरण गरेको पाइएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम जारी निर्वाचन आचारसंहिताको परिच्छेद १ को दफा १७ (क) मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारको प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा–सम्मेलन तथा चुनावी सामग्री वितरण गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।

यसरी मौन अवधिमा राजनीतिक छलफल तथा चुनाव चिन्ह अंकित सामग्री वितरण गरिएको विषयलाई आचारसंहिता विपरीत कार्यका रूपमा उल्लेख गरीएको छ ।

 

 नविन यादव

भिडियो