फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिका लागू भइसकेको अवस्थामा फागुन १९ गते मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ क्षेत्रमा राजनीतिक गतिविधि भएको पाइएको छ ।
चुनावलाई प्रभावित पार्नको लागि पैसा बाँड्न हिँडेको आरोपमा मुस्ताङको लोमन्थाङ गाउँपालिका– ५ का पूर्व वडा अध्यक्ष नवाङकुङ्गा लामाको ग१च ६५२४ नम्बरको गाडी सशस्त्र प्रहरीबलले नियन्त्रणमा लिएको छ ।
लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ क्षेत्रमा मत प्रभावित पार्ने ध्येयले बाँढ्न लैजादै गरेको ५ लाख रुपियाँ र नेपाली कांग्रेसका दस्तावेज सहित गाडि नियन्त्रणमा लिएको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो । मौन अवधिमा चराङ हुँदै लोमन्थाङ तर्फ जाँदै गरेको उक्त गाडी शंका लागेर खानतलासी गर्दा नगद तथा कांग्रेसको झण्डा तथा पैसा दिने व्यक्तिहरुको नामावली समेत भेटिएको सुरक्षा निकायले जनाएको छ ।
स्थानीय राजनीतिक दलका प्रतिनिधिको रोहवरमा गाडी खान तलासी गर्दा पैसा भेटिएपछि गाडीमा सवार कांग्रेस कार्यकर्ताहरु भने भागेको स्थानीयको भनाइइ छ ।